नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशमा आर्थिक सुधारको आधार तयार हुँदै गएको बताएका छन्।
सोमबार महासंघको सचिवालयमा अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) का दक्षिण एसियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीसँगको भेटघाटमा उनले यस्तो बताएका हुन्।
भेटका क्रममा ढकालले नेपाल सरकारले निजी क्षेत्रका प्रतिनिधिहरूबाट आएका सुझावहरूलाई प्राथमिकतामा राख्दै नयाँ आर्थिक सुधारका उपायहरू अघि बढाएको जानकारी दिए।
उनले सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय विकास साझेदारहरूबीच सहकार्यको आवश्यकतामा जोड दिँदै यो साझेदारीले मुलुकको आर्थिक वृद्धि दरलाई टेवा पुर्याउन सक्ने विश्वास व्यक्त गरे।
ढकालले नेपाल उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय वित्त निगमले मिलेर नेपालमा व्यवसायहरूको प्रतिस्पर्धात्मकता सुधार्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताए।
साथै, महासंघ र आइएफसीले संयुक्त रूपमा प्रकाशित गरेको 'नेपालमा निजी क्षेत्रको अवस्था' प्रतिवेदनको प्रभावबारे पनि छलफल गरेका थिए।
उनले यो प्रतिवेदनले व्यवसायिक समुदाय र नीति निर्माताहरूलाई ठोस मार्गदर्शन प्रदान गर्ने उल्लेख गरे।
ढकालले निजी क्षेत्रमा प्रवर्द्धन गर्न आइएफसीसँग सहकार्य गर्दै विभिन्न कार्यक्रम ल्याउने प्रयास भइरहेको जानकारी दिए।
उनले आइएफसीको विशेषज्ञता र महासंघको स्थानीय व्यवसाय समुदायसँगको सम्बन्धले नेपालको आर्थिक परिदृश्यमा सकारात्मक परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरे।
भेटको क्रममा आइएफसीका निर्देशक फाखौरीले सार्वजनिक–निजी साझेदारीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए।
उनले नेपालले अहिले केही आर्थिक चुनौतीहरूको सामना गरिरहेको भए पनि मुलुकको आर्थिक वृद्धिका लागि धेरै सम्भावना रहेको बताए।
नेपालको आर्थिक सुधार र निजी क्षेत्रको प्रगति सम्बन्धमा दुई संस्थाबीचको सहकार्यले दीर्घकालीन आर्थिक वृद्धि सुनिश्चित गर्न सक्ने अपेक्षा गरिएको छ।