राष्ट्रिय योजना आयोगको सचिवको जिम्मेवारी मधुकुमार मरासिनीलाई दिइएको छ।
आयोगका सचिव तोयनारायण ज्ञवालीले राजीनामा दिएपछि डेढ महिना अघि उपराष्ट्रपति कार्यालयमा सरूवा भएका मरासिनीलाई योजना आयोगमा सरूवा गरिएको हो।
गत साउन १० मा मरासिनीलाई अर्थमन्त्रालयको सचिवबाट उपराष्ट्रपति कार्यालयमा सरूवा गरिएको थियो। उनले यसै वर्ष फागुनमा अनिवार्य अवकाश पाउँदै छन्।
त्यस्तै, उपराष्ट्रपति कार्यालयको सचिवको जिम्मेवारी लक्ष्मीकुमारी महतोलाई दिइएको छ। उनी यसअघि गण्डकी प्रदेश सरकारकी प्रमुख सचिव रहेकी थिइन्।
हालसालै सचिवमा बढुवा भएका गोविन्दबहादुर कार्कीलाई बागमती प्रदेश सरकारको प्रमुख सचिवको जिम्मेवारी दिइएको छ।
बिहीबारकै मन्त्रिपरिषद बैठकले राष्ट्रिय तथ्यांक कार्यालयमा प्रमुख तथ्यांक अधिकारी गोकर्ण दुवाडीलाई गृह सचिवमा सरूवा गरेको थियो।