उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नीतिगत सुधारमा सरकार प्रतिबद्ध रहेको बताएका छन्।
सरकार आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न प्रभावकारी व्यवस्थापन र लगानी विस्तारमा केन्द्रित रहेको बताएका छन्।
लाभ र लागत विश्लेषणमा आधारित आयोजनाहरूमा लगानी बढाइने र ऋणलाई उत्पादन र उत्पादकत्व अभिवृद्धिमा खर्च गरिने उनले बताए।
मंगलबार नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) की आवासीय प्रतिनिधि टेरेसा डेबन सान्चेजसँग भएको छलफलमा पौडेलले सरकार ऋण लिने मामलामा सतर्क रहेको स्पष्ट गरे।
नेपालका लागि विस्तारित कर्जा सुविधा (इसिएफ) को चौथो समीक्षासम्म भएको नीतिगत सुधारमा सरकार प्रतिबद्ध रहेको उनले उल्लेख गरे।
आगामी नोभेम्बरमा हुने पाँचौ समीक्षाका लागि आइएमएफसँग सहकार्य गरिने जानकारी पनि उनले दिए।
सान्चेजले नेपालमा जलविद्युत र पर्यटनको क्षेत्रमा धेरै सम्भावना रहेको र पुँजीगत खर्चले आर्थिक वृद्धि गर्न सकिने धारणा राखिन्।
चालु आर्थिक वर्षको बजेटमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखिएको छ।