उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक ऋणको आकार रोकिनेभन्दा थपिँदै गएकोले सरकारले सोच विचार गरेर मात्र ऋण लिने बताएका छन्।
हालसम्म साढे २४ खर्ब बढी सार्वजनिक ऋणको आकार पुगेकोले अब भने उत्पादनमूलक क्षेत्रका लागि मात्र ऋण लिनुपर्ने बताए।
शुक्रबार राष्ट्रिय उद्यमी सम्मेलनको भैरहवामा उद्घाटन गर्दै पौडेलले उत्पादन घट्दा राजस्वमा गम्भीर असर परेको समेत बताए।
आर्थिक वर्ष २०८०/८१ मा राजस्व असुलीमा कमी र उत्पादनमा आएको ह्रासका कारण ६ प्रतिशतको आर्थिक वृद्धि भएको प्रसंंग निकाल्दै उनले यसलाई क्षतिपूर्ति गर्नका लागि पनि चालु आर्थिक वर्षमा राजस्व लक्ष्यको ३० प्रतिशत वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याए।
अर्थमन्त्री पौडेलले सरकारले उद्यमीलाई दुःख दिने काम नगर्ने बताए।
‘उद्यमीलाई दुःख दिएर सरकारले राजस्वको लक्ष्य हासिल गर्न सक्दैन,’ उनले भने।
उत्पादन र उत्पादकत्व वृद्धि र रोजगारी सिर्जना गर्नेतर्फ सरकारले मुख्य ध्यान केन्द्रित गरेको भन्दै अर्थमन्त्री पौडेलले सरकारले ल्याएको स्टार्टअप कार्यक्रम युवा उद्यमीका लागि महत्वपूर्ण हुने बताए। यद्यपि यो पर्याप्त नभएकाले आगामी दिनमा अझ बढी ध्यान दिने उनको भनाइ छ।
सरकारले उद्योगीको मनोबल उठाउने र कानुनसम्मत ढंगले उत्पादनमा लागेर निजी क्षेत्रलाई माथि उठाउने काममा जोड दिएको अर्थमन्त्री पौडेलले बताए। उद्यमीहरूले आफूसँग भएको सीमित पुँजीलाई उद्योग स्थापनामा लगानी गर्नुपर्नेमा जोड दिँदै उनले सरकारले औद्योगिक क्षेत्र स्थापना गरी जग्गा उपलब्ध गराउने गरी गृहकार्य गरिरहेको बताए।
राष्ट्रिय उत्पादन र राष्ट्रिय अर्थतन्त्रको सबलीकरणका लागि सरकारले उद्यमीहरूलाई प्रोत्साहनको नीति लिएको र साथमा लिएर अगाडि बढ्न चाहेको पनि अर्थमन्त्री पौडेलले बताए।
देशभरका १४० उद्यमी सहभागी भएको राष्ट्रिय उद्यमी सम्मेलन शनिबार सकिने छ। राष्ट्रिय युवा उद्यमी मञ्चले देशभरका उद्यमी सहभागी गराएर भैरहवामा उद्यमी लिडरसिप सम्मेलन आयोजना गरेको हो।