नेपालको सार्वजनिक ऋण २४ खर्ब ७२ अर्ब ४४ करोड रूपैयाँ पुगेको छ।
यो सँगै नेपालको अर्थतन्त्रको आकारको अनुपातमा सार्वजनिक ऋण ४३.३४ प्रतिशत पुगेको छ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आन्तरिक ऋण १२ खर्ब तीन अर्ब ९० करोड पुगेको छ।
त्यस्तै, बाह्य ऋण १२ खर्ब ६८ अर्ब ५४ करोड पुगको छ। गत वर्षदेखि आन्तरिक ऋणको सावाँ भुक्तानी धेरै भएको र बाह्य ऋणको कम भएको कारण आन्तरिकको भार बढेको हो।
साउन महिनामा मात्रै ४३ अर्ब ५९ करोड ऋण उठाइएको छ। जसमध्ये आन्तरिक बजारबाट ४० अर्ब रूपैयाँ उठाइएको छ भने सहुलियत दरको वैदेशिक ऋण तीन अर्ब ५९ करोड प्राप्त भएको छ।
साउन महिनामा सरकारले २३ अर्ब १८ करोड सार्वजनिक ऋणको सेवा खर्च (सावाँ, ब्याज तथा कमिसन भुक्तानी) गरेको छ। आन्तरिक ऋणतर्फ १७ अर्ब सावाँ र तीन अर्ब ६० करोड ब्याज भुक्तानी गरिएको छ।
बाह्य ऋणतर्फ भने दुई अर्ब ५८ करोड सावाँ र दुई अर्ब २७ करोड ब्याज भुक्तानी गरिएको छ।
चालु वर्षमा सरकारले चार खर्ब दुई अर्ब ८५ करोड सार्वजनिक ऋणको सेवा खर्च गर्ने तालिका बनाएको छ।
तर, यो समयमा पाँच खर्ब ४७ अर्ब ऋण उठाउने लक्ष्य राखेको छ।
आन्तरिक ऋण लक्ष्य अनुसार उठाइए पनि बाह्य भने पछिल्ला वर्षहरूमा निकै कम प्राप्ति भएको छ।