संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उड्डयन क्षेत्रलाई सुरक्षित बनाउन अघि बढाएका नागरिक उड्डयन क्षेत्रको नियामक र सेवा प्रदायक निकाय अलग गर्ने मस्यौदा विधेयकलाई अर्थ मन्त्रालयले सहमति दिएको छ।
सो सहमतिपछि विधेयक कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय पुगेको पर्यटन मन्त्रालयले जनाएको छ।
नागरिक उड्डयन सम्बन्धी मौजुदा ऐनमा सेवा प्रदायक र नियामक निकाय एउटै भएका कारण यसअघि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा त्यसको विरोध हुँदै आएको थियो।
पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालय सम्हालेलगत्तै लामो समयदेखि रोकिँदै आएको उक्त विधेयकलाई प्राथमिकताका साथ अघि बढाएका हुन्।
यस विषयमा मन्त्री पाण्डेले पूर्वपर्यटनमन्त्री र सम्बन्धित सरोकारवालासँग छलफल पनि गरेका थिए।
अर्थ मन्त्रालयको सहमतिसँगै कानुन मन्त्रालयबाट सहमति पाएपछि उक्त विधेयक मन्त्रिपरिषद् हुँदै संसदमा पेश हुनेछ।