उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकमा स्थायित्व कायम गर्नकै लागि ठूला दल मिलेर नयाँ सरकार बनेको दाबी गरेका छन्।
बिहीबार नेपाल उद्योग परिसंघका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री पौडेलले राजनीतिक समीकरणलाई समेत हेरेर आशावादी बन्न आग्रह गरे।
'प्रधानमन्त्री चौथो पटक भूतपूर्व प्रधानमन्त्रीको फोटो टास्न आउनुभएको होइन। समस्या देखेरै त्यो समाधानका लागि यो सरकार आएको हो,' उनले भने, 'अर्थतन्त्रमा आशाको दियो बाल्ने प्रयास हुनेछ।'
उनले नीतिको स्थिरता र कार्यान्वयनको स्थायित्व आवश्यक रहेकाले यसैमा केन्द्रित भई सरकारले काम गर्ने बताए। उनले समस्या मात्र नभई समाधानका लागि निजी क्षेत्रसँग बसेर छलफललाई केन्द्रित गर्ने समेत बताए।
परिसंघ अध्यक्ष राजेशकुमार अग्रवालले विगत तीन वर्षदेखि शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको मनोबल बढाउन आवश्यक रहेको बताए।
उत्पादनशील र निर्माण क्षेत्र बढी प्रभावित हुँदा बाह्य क्षेत्र उत्साहजनक भए पनि आन्तरिक अर्थतन्त्र अझै समस्यामा रहेको बताए।
विगत तीन वर्षदेखि उद्योगहरू ३०/४० प्रतिशत क्षमतामा सञ्चालन भइरहेको र समग्र बजार मागमा संकुचन आउँदा अर्थतन्त्र चलायमान हुन नसकेको बताए।
उनले विगतका संकुचनकारी मौद्रिक नीतिले अर्थतन्त्र विस्तार हुन नसकेको टिप्पणी गरे।
चालुपुँजी कर्जा मार्गदर्शन र पुँजीको वर्गीकरण मार्गदर्शनका कारण उत्पादनशील क्षेत्र र निर्माण क्षेत्र बढी प्रभावित भएकाले यी दुई मार्गदर्शन खारेज हुनुपर्ने उनको भनाइ छ।
परिसंघले अर्थतन्त्रलाई चलायमान बनाउन समग्र माग बढ्ने नीति लिनुपर्ने, पुँजीगत खर्च बढाउन सुनिश्चितता प्रदान गर्नुपर्ने परिसंघको जोड छ।