ठूला करदाता कार्यालयले चालु आर्थिक वर्षमा दुई खर्ब १७ अर्ब रुपैयाँको राजस्व उठाएको छ। गत वर्ष एक खर्ब ८६ अर्ब रुपैयाँ मात्रै राजस्व संकलन भएको थियो। यो वर्ष भने ३१ अर्ब रुपैयाँले राजस्व बढेको कार्यालयले जनाएको छ।
सोमबार साँझ सात बजेसम्म समग्र राजस्व करिब १० प्रतिशत मात्रैले बढेको छ। तर ठूला करदाता कार्यालयबाट भने करिब १७ प्रतिशतको वृद्धिदर कायम भएको छ।
ठूला करदाता कार्यालयका प्रमुख प्रशासक जनक शर्माका अनुसार सोमबार मात्रै सात अर्ब रुपैयाँ राजस्व संकलन भएको छ। त्यस्तै, असार महिनाभर ३४ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ।
गत वर्ष असार मसान्तको दिन ८ अर्ब रुपैयाँ र असार महिनाभर ३० अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो।
सरकारले उठाउने कुल राजस्वमा ठूला करदाता कार्यालयमार्फत उठाइने राजस्वको हिस्सा मात्रै २० प्रतिशत हाराहारी छ।
यो कार्यालयलाई चालु आर्थिक वर्षमा दुई खर्ब ८६ अर्ब राजस्व संकलनको लक्ष्य दिइएको थियो। यो गत वर्ष उठेको वास्तविक संकलनको तुलनामा करिब ८४ प्रतिशतले बढी हो।
विशेष गरी बैंकको आम्दानी वृद्धिदरमा आएको कमी, अन्तःशुल्क घटेको तथा भ्याट वृद्धिदर लक्ष्यको तुलनामा भने निकै कम भएपछि १७ प्रतिशतको मात्रै वृद्धि कायम भएको छ।
६ वर्षमा ठूला करदाता कार्यालयले उठाएको कर
आर्थिक वर्ष २०७५/७६- एक खर्ब ६२ अर्ब रुपैयाँ
आर्थिक वर्ष २०७६/७७- एक खर्ब ८४ अर्ब रुपैयाँ
आर्थिक वर्ष २०७७/७८- एक खर्ब ६९ अर्ब रुपैयाँ
आर्थिक वर्ष २०७८/७९- एक खर्ब ८३ अर्ब रुपैयाँ
आर्थिक वर्ष २०७९/८० - एक खर्ब ८५ अर्ब रुपैयाँ
आर्थिक वर्ष २०८०/८१ साँझ सात बजेसम्म - दुई खर्ब १७ अर्ब रुपैयाँ
ठूला करदाता कार्यालयमार्फत उठाइएको करमध्ये असारमा उठाएको करको योगदान मात्रै १६ प्रतिशत छ।
असारमा पूर्ण आयकरमध्ये ३० प्रतिशत उठ्ने गर्छ।
आयकर ऐन- २०५८ को दफा ९४ अनुसार कुनै व्यवसाय वा लगानीबाट निर्धारणयोग्य आय भएको वा हुने व्यक्तिले तीन किस्तामा कर दाखिला गर्नुपर्ने हुन्छ। त्यसैले पुस मसान्तमा ४० प्रतिशत, चैत मसान्तमा ३० प्रतिशत थपेर ७० प्रतिशत र बाँकी ३० प्रतिशत असार मसान्तमा गरी १०० प्रतिशत रकम तिर्नुपर्ने हुन्छ।
ठूला करदाता कार्यालयले एक अर्ब रुपैयाँभन्दा बढीको वार्षिक कारोबार गर्ने करदाताको कर प्रशासन गर्छन्। चालीस करोडदेखि एक अर्ब रुपैयाँसम्मको कारोबारको कर प्रशासन मध्यमस्तरीय करदाता कार्यालयले गर्छ।
त्यस्तै ४० करोड रुपैयाँभन्दा तलको कारोबारमा आन्तरिक राजस्व विभाग अन्तर्गतका विभिन्न कार्यालयले कर प्रशासन गर्छन्।
आन्तरिक राजस्व ५ खर्ब ३० अर्ब रुपैयाँमाथि
आन्तरिक राजस्व विभागबाट उठ्ने राजस्व ५१ अर्ब रुपैयाँले बढेको छ। गत वर्ष ४ खर्ब ७९ अर्ब रुपैयाँ राजस्व उठेको थियो। यो वर्ष सोमबार साँझ ७ बजेसम्म ५ खर्ब ३० अर्ब पुगेको आन्तरिक राजस्व विभागका अधिकारीले बताएका छन्।
यो ठूला करदाता कार्यालयसहितका आन्तरिक कर कार्यालयहरूले उठाएको राजस्वसमेत हो।
यो वर्ष समग्र आन्तरिक राजस्व करिब ११ प्रतिशतले बढेको छ। यता आयात घट्दा भन्सार राजस्व भने प्रभावित भएको छ। भन्सार विभागलाई गत वर्षको भन्दा ४० प्रतिशत बढी राजस्व संकलन गर्ने लक्ष्य दिइएको थियो। तर, करिब ८ प्रतिशतको मात्रै वृद्धिदर देखिएको छ। भन्सार कार्यालयहरूमध्ये सबैभन्दा बढी राजस्व वीरगन्ज भन्सार कार्यालयबाट उठ्ने गरेको थियो। गत वर्ष ३ खर्ब ७७ अर्ब रुपैयाँ भन्सार राजस्व उठेको थियो। जसमध्ये एक खर्ब ५७ अर्ब रुपैयाँ राजस्व वीरगञ्जबाट संकलन भएको थियो।
यो वर्ष १५ प्रतिशतले आयात घटेपछि वीरगन्ज भन्सार कार्यालयले गत वर्षको बराबर मात्रै राजस्व संकलन गरेको छ। विशेष गरी वीरगञ्ज भन्सार कार्यालयबाट सवारी साधनको बढी आयात हुने गरेकोमा अहिले रसुवा भन्सारबाट यस्तो आयात बढेको छ। रसुवा भन्सार कार्यालयको राजस्वमा भने उल्लेख्य सुधार आएको बताइएको छ।