भन्सार विभागले विभिन्न तहमा कार्यरत कर्मचारीहरूको सरुवा गरेको छ।
विभागका महानिर्देशक ढुण्डीराज निरौलाले रसुवा र वीरगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत तथा नायव सुब्बाहरू सरुवा गरेका छन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवासम्बन्धी नयाँ मापदण्ड बनाउनको लागि भन्दै सरुवामा रोक लगाएको समयमा भन्सार विभागले महानिर्देशकको निर्णयबाट सरुवा गरेको हो।
केही महिनाअघि मात्रै सरुवा भएर विभागमा आएका कर्मचारीको पनि सरुवा गरिएको कर्मचारीहरूले गुनासो गरेका छन्।
केही कर्मचारीहरूले मापदण्डविपरीत आफू अनुकूलका कर्मचारीलाई सरुवा गरेको भन्दै अर्थ मन्त्रालयमा गुनासो समेत टिपाएका छन्।
गत आइतबार मात्रै विभागका कार्यरत लक्ष्मण बास्तोला र हंस रावललाई रसुवा भन्सारमा सरुवा गरिएको थियो। केही समय अघि तातोपानी भन्सारबाट विभागमा सरुवा भएका अर्जुन कार्कीलाई वीरगञ्ज भन्सारमा सरुवा गरिएको छ।
भन्सार विभागका केही कर्मचारीहरूले महा–निर्देशक निरौलाले माओवादी निकट भनेर चिनिएका कर्मचारीलाई अनुकूलको सुरुवा गराइएको दाबी गरे।
'अहिले सुरुवा नै गर्न मिल्दैन। सामान्य प्रशासनको स्वीकृतिसमेत नलिएर महानिर्देशकले मनपरी सरुवा गर्नु भएको छ,' विभागका एक कर्मचारीले भने।
उनका अनुसार यो बीचमा १० जना कर्मचारीको सरुवा गरिएको छ।
सामान्य प्रशासन मन्त्रालयका सह–सचिव विष्णु ज्ञवालीले भने भन्सार विभागमा सरुवाको लागि अहिले स्वीकृत नदिइएको बताए।
हामीले केही समयमा नयाँ मापदण्ड बनाउनको लागि सरुवा रोक पनि लगाएका थियौँ। अहिले अत्यावश्यक र पदपूर्ति गर्ने सवालमा बाहेक सरुवा पनि भएको छैन, भन्सार विभागले नयाँ सरुवाको लागि स्वीकृति पनि मागेको छैन। हामीले दिएका पनि छैनौँ,' उनले भने।
वर्षामान पुन अर्थमन्त्री भएपछि गत चैतमा भन्सार विभाग महानिर्देशको जिम्मेवारी निरौलाले पाएका थिए।