त्रिभुवन विश्व विद्यालय अर्थशास्त्र विद्यार्थी समाज(इकोस) अर्थशास्त्र केन्द्रिय विभागले आउँदै गरेको मौद्रिक नीतिबारे छलफल गरेको छ।
अर्थतन्त्रका विद्यमान समस्यालाई मौद्रिक नीतिबाट कसरी समाधान गर्ने भन्ने विषयमा अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको अर्थशास्त्र विद्यार्थी समाजका उपाध्यक्ष प्रविन श्रेष्ठले बताए।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले अर्थतन्त्रमा निजी क्षेत्रको आत्मबल बढाउने नीति आवश्यक रहेको बताइन्।
उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको तथा ऋण तिर्न नसकेर कतिपय उद्योगी आत्महत्या गरेका जस्ता जटिल अवस्था देखिन थालेको औंल्याउँदै उनले अबको नीति उत्पादन बढाउने तथा उद्यमीको रक्षा गर्ने खालको हुनुपर्ने उल्लेख गरिन्।
पूर्व बैंकर अनलराज भट्टराईले वित्तीय क्षेत्रको संवेदनशीलतालाई ख्याल गरेर नीति बनाउनुपर्नेमा जोड दिए।
राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले अहिलेको समय धेरै चुनौतीपूर्ण रहेको उल्लेख गरे।
बैंकमा जम्मा भएको बचतलाई भरपर्दो लगानीमा रूपान्तरण गर्नुपर्ने उनको भनाइ छ। अहिलेको तरलतालाई व्यवस्थापन गर्ने नाममा जथाभावी खर्च गर्दा भयावह अवस्था आउने सक्ने हुँदा संयमित हुनुपर्ने उनले बताए।
प्रा.डा रामप्रसाद ज्ञवाली ज्ञवालीले मुलुकको अर्थतन्त्रमा लगानीमा कमी, खस्कँदो आन्तरिक उत्पादन र वित्तीय बजारको अन्योलले ठूलो समस्या पारेको बताए।
यस्तो अवस्थालाई मौद्रिक नीतिसँगै प्रभावकारी वित्तीय नीतिको संयोजनमार्फत समाधान गर्नुपर्नेमा जोड दिए।
नेपालको मौद्रिक नीति बनाउदा वा ब्याजदर तय गर्दा भारतको नीति पनि ख्याल गर्नुपर्ने बताए। ख्याल नगरे पुँजी पलायनको समस्या हुने उनको तर्क छ।