काठमाडौं महानगरपालिकाको चालु आर्थिक वर्षमा ५१ प्रतिशत बजेट खर्च गरेको छ। पछिल्ला पाँच वर्षको तुलनामा महानगरको बजेट खर्च यसपालि सबभन्दा धेरै भएको हो।
महानगरका अनुसार आर्थिक वर्ष २०८०/८१ मा २४ अर्ब २० करोड रूपैयाँ बजेट विनियोजन गरिएको थियो। त्यसमध्ये १२ अर्ब ३५ करोड रूपैयाँ अर्थात् ५१.०४ प्रतिशत खर्च भएको छ।
'पछिल्ला पाँच वर्षयता यो सबभन्दा धेरै खर्च हो,' महानगरका प्रवक्ता एवं वडा नम्बर-१७ का वडाध्यक्ष नवीन मानन्धरले भने।
योजना र कार्यक्रमहरू प्राथमिकीकरण गरेका कारण खर्चमा प्रगति हासिल गर्न सहज भएको उनले बताए।
महानगरले आर्थिक वर्ष २०७६/७७ मा विनियोजित बजेटको ४९.७ प्रतिशत खर्च गरेको थियो। त्यसपछि क्रमशः खर्च दर घट्दै गएको थियो।
वर्ष २०७७/७८ मा ३६.७ प्रतिशत, २०७८/७९ मा ४४.३ प्रतिशत र २०७९/८० मा ४०.२ प्रतिशत कुल खर्च भएको थियो।
त्यस्तै यसपालि महानगरको पुँजीगत खर्चमा पनि सुधार भएको छ। चालु वर्ष पुँजीगत खर्च बढेर ४२.३५ प्रतिशत पुगेको छ। यो तीन वर्षयताकै उच्च हो।
आर्थिक वर्ष २०७६/७७ मा महानगरको पुँजीगत खर्च ४४.८ प्रतिशत थियो। त्यसपछि घट्दै वर्ष २०७७/७८ मा २१.३ प्रतिशत, २०७८/७९ मा २९.४ प्रतिशत र २०७९/८० मा २५.९ प्रतिशत पुँजीगत खर्च भएको थियो।
वित्तीय खर्च पनि २०७७/७८ मा २३ प्रतिशत भएकामा बढेर यो वर्ष शतप्रतिशत पुगेको छ।
'यो वर्ष महानगरको खर्च बढ्नुमा पुँजीगत खर्च र वित्तीय खर्चको योगदान रहेको पुष्टि हुन्छ,' महानगरले भनेको छ।
महानगरको बेरूजु पनि कम भएको छ। वर्ष २०७८/७९ को तुलनामा २०७९/८० मा बेरूजु ६१ प्रतिशतले कम भएर २६ करोड रूपैयाँ कायम भएको महानगरले जनाएको छ।
'योजनाबद्ध कार्यक्रम सञ्चालन तथा व्यवस्थापन हुनाले पुँजीगत खर्च वृद्धि र बेरूजु न्यूनीकरण भएको हो,' महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भने।
यो वर्ष महानगरले चालु खर्च थोरै घटाएको छ। गत वर्ष ६४.९ प्रतिशत चालु खर्च भएकामा यसपालि ६४.४ प्रतिशत छ। वर्ष २०७६/७७ मा यस्तो खर्च ७७.२ प्रतिशत थियो।