नेपालको निर्यात व्यापारमा नयाँ वस्तुहरूले बजार हिस्सा बढाउँदै गएका छन्।
पछिल्लो साढे दुई वर्षदेखि निर्यात सुरू भएका प्लाइउड, सिमेन्ट, दाह्री काट्ने रेजर तथा ब्लेड लगायतको निर्यात उल्लेख्य बढेको छ। जसले निर्यातमा नयाँ सम्भावना देखाएको व्यापार जानकार बताउँछन्।
गत वर्ष नेपालको निर्यात व्यापार २१.४ प्रतिशतले घटेको थियो। यो वर्ष थप तीन प्रतिशतले घटेको छ।
आर्थिक वर्ष २०७८/७९ मा दुई खर्ब रूपैयाँको वस्तु नेपालबाट निर्यात भएको थियो। गत वर्ष २०७९/८० मा ४३ अर्ब रूपैयाँले घटेर एक खर्ब ५७ अर्ब रूपैयाँको मात्रै भयो।
यो वर्ष ११ महिनाको अवधिमा एक खर्ब ३९ अर्ब रूपैयाँ बराबरको निर्यात भएको छ।
दुई वर्ष अघिको तुलनामा करिब २५ प्रतिशतले निर्यात गिरावट आउँदा पनि विज्ञ तथा सरोकारवालाहरूले निर्यातमा आशा पलाएको बताएका छन्।
आयातमा आधारित निर्यात हिस्सा कम हुँदै गएको तर, धेरै मूल्य अभिवृद्धि हुने र नेपाली कच्चा पदार्थमा आधारित उत्पादनको निर्यात बढेको कारण नेपालको निर्यात यात्रामा आशा पलाएको उनीहरूको भनाइ छ।
जस्तै प्लाइउड धेरै मूल्य अभिवृद्धि हुने उत्पादन हो। जसको प्रमुख कच्चा पदार्थ (काठ) नेपालमा छ। आर्थिक वर्ष २०७८/७९ मा ३५ करोड रूपैयाँ मात्रैको निर्यात भएको प्लाइउड यो वर्ष ११ महिनामा ६ अर्ब ६८ करोड रूपैयाँ बराबरको पुगेको छ।
व्यवसायीहरूका अनुसार प्लाइउडमा ८० प्रतिशतसम्म मूल्य अभिवृद्धि हुन्छ।
पाम आयल नेपालमा उत्पादन हुँदैन। वनस्पति घ्यू उत्पादन गर्ने नेपाली उद्योगीहरूले इन्डोनेसिया र मलेसियाबाट पाम आयात गरेर एक तहको प्रशोधन गरी भारत निर्यात गर्दै आएका थिए।
आर्थिक वर्ष २०७८/७९ मा ४१ अर्ब रूपैयाँ बराबरको पाम तेलको निर्यात भएको थियो। चालु वर्षको ११ महिनामा ६ अर्ब ३१ करोड रूपैयाँको भएको छ।
'केही वस्तुको निर्यात उल्लेखनीय घटेको छ। तर, अधिकांश वस्तुको निर्यात बढेको छ। यसलाई सन्तोषजनक मानेका छौँ,' व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदबिक्रम राणाले भने।
नेपाल राष्ट्र बैंकको नेपालको वैदेशिक व्यापार प्रवृत्ति अध्ययन प्रतिवेदन अनुसार २०५० को दशकमा नेपालबाट विदेशी बजारमा सबभन्दा बढी निर्यात हुने वनस्पति घ्यू थियो। निर्यात हुने मात्रै होइन, आयातमा पनि वनस्पति घ्यू अग्रस्थानमा थियो।
नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक केशव आचार्यका अनुसार विगतदेखि नै भारत र नेपालमा हुने भन्सार भिन्नतामा नेपाल-भारतको आयात निर्यातको तथ्यांक फरक देखिन्छ।
'पञ्चायतकालदेखि नै भारतमा भन्दा नेपालमा भन्सार दर कम भयो भने तेस्रो मुलुकबाट नेपालमा कच्चा पदार्थ ल्याउने र भारत निकासी बढाउने गरेको पाइन्छ,' आचार्यले भने।
विगतको निर्यातलाई विज्ञहरूले स्वेलिङ (फुलाइएको) निर्यात भन्ने गरेका थिए। नेपालमा सामान्य मात्रै (१५/२० प्रतिशतको) मूल्य अभिवृद्धि गरेर आयातकै भरमा निर्यात गरेर लाभ उठाउने गरेका थिए। भारतले सम्बन्धित देशहरूबाट नै तेलको निर्यात गर्न थालेपछि नेपालबाट निर्यात घटेको छ।
आर्थिक वर्ष २०७८/७९ मा भएको कुल निर्यातमा ४७ प्रतिशत योगदान सूर्यमुखी, पाम र भटमासको तेलको थियो। त्यस आर्थिक वर्षमा दुई खर्बको सामान निर्यात भएकोमा यी तीन प्रकारको तेल मात्रै ९४ अर्बको भएको थियो।
गत वर्ष भने ३३ अर्ब रूपैयाँको मात्रै यस्तो तेल निर्यात भएको छ। गत वर्ष २०७९/८० मा भएको एक खर्ब ५७ अर्बको जम्मा निर्यातमा यी तेलको योगदान २१ प्रतिशतमा झरेको थियो।
गत वर्ष समग्र निर्यात ४३ अर्बले घट्दा यी तीन प्रकारको तेलमा मात्रै ६१ अर्ब रूपैयाँले कमी आएको छ।
चालु वर्षमा समग्र निर्यात चार अर्ब रूपैयाँले घटेको छ। तर, पाम, सूर्यमुखी र भटमासको तेलको निर्यात मात्रै २१ अर्ब रूपैयाँले कमी आएको छ।
चालु वर्षको ११ महिनाको अवधिमा समग्र निर्यातमा तेलको हिस्सा ५ प्रतिशतमा झरेको छ। मात्रै दुई वर्षअघि समग्र निर्यातमा ४७ प्रतिशत योगदान पुर्याएको वस्तुको योगदान ५ प्रतिशतमा झरेको छ।
यी तीन प्रकारको तेलमा नेपालको उत्पादन होइन, तेस्रो मुलुकबाट निर्यात गर्ने र भारतले नेपाललाई दिएको छुटलाई प्रयोग गर्दै नेपालबाट भारत निर्यात हुने गरेको थियो। गत वर्ष भारतले सम्बन्धित देशबाट तेल ल्याउँदा पनि भन्सार घटाएपछि नेपालबाट हुने निर्यात उल्लेख्य घट्यो।
तर, नेपाली कच्चा पदार्थमा आधारित तथा मूल्य अभिवृद्धि बढी हुने वस्तुको आयात उल्लेख बढेको छ। यसले निर्यातमा नयाँ यात्रा देखाएको उनीहरूको भनाइ छ।
सबभन्दा बढी फलाम तथा स्टिलको उत्पादन भएको छ। आर्थिक वर्ष २०७८/७९ मा जम्मा ३ अर्ब ८७ करोड आइरन स्टिलको निर्यात भएकोमा गत वर्ष १० अर्ब ८२ करोड पुगेको थियो। यो वर्ष ११ महिनामा नै १५ अर्ब ८१ करोड रूपैयाँ पुगेको छ। समग्र निर्यातमा फलाम तथा स्टिलको योगदान मात्रै ११ प्रतिशत छ।
गत वर्षको ११ महिनाको तुलनामा उल्लेख्य निर्यात बढेका ६ वस्तु |
सामान | निर्यात रकम | वृद्धिदर |
फलाम तथा स्टिल | १५ अर्ब ८१ करोड | ५९ प्रतिशत |
जुस | ७ अर्ब ९६ करोड | ५.७२ प्रतिशत |
प्लाइउड | ६ अर्ब ६८ करोड | ६०.२१ प्रतिशत |
क्लिंकर तथा तयारी सिमेन्ट | तीन अर्ब ६६ करोड | ४३९ प्रतिशत |
तयारी पोसाक | ७ अर्ब ६६ करोड | ११ प्रतिशत |
दाह्री काट्ने रेजर, ब्लेड | एक अर्ब ८८ करोड | ३६३ प्रतिशत |
यो वर्ष उल्लेखनीय निर्यात भएका फलाम तथा स्टिल, दाह्री काट्ने रेजर तथा ब्लेडको कच्चा पदार्थ आयातमा नै भर पर्नु पर्ने हुन्छ। तयारी कपडा भने धागो नेपालमा नै उत्पादन हुन्छ। तर, धागोको कच्चा पदार्थमा निर्यात गरिन्छ। धागोको कच्चा पदार्थ आयात गरेदेखि कपडा बनाउने क्रमसम्म ८० प्रतिशत बढी मूल्य अभिवृद्धि हुने व्यवसायीहरूको भनाइ छ।
ऊनी गलैँचाको निर्यात ५ प्रतिशतले घटेको छ। यस्तो वस्तुको निर्यात नौ अर्ब ७३ करोड रूपैयाँको छ।
गत वर्ष बढी निर्यात देखिनुको एउटा कारण पुराना हेलिकप्टरहरूको अन्तर्राष्ट्रिय बजारमा बिक्री बढी हुनु पनि हो।
गत वर्ष ६ वटा यस्ता हेलिकप्टर तथा जहाज ६३ करोड ८४ लाख रूपैयाँमा बेचिएको थियो। यो वर्ष एउटा मात्रै ५ करोड रूपैयाँमा बिक्री गरिएको छ।
धागोको निर्यात पनि ५ प्रतिशतले घटेर १० अर्ब ५२ करोड रूपैयाँ बराबरको छ। अल्कोहलरहित पेय पदार्थको निर्यात ९९ प्रतिशतले घटेर २४ लाख रूपैयाँको मात्रै भएको छ।
चोकर तथा भुसको ५७ प्रतिशत, चियाको १३, खोटोको १९ प्रतिशत र चाउचाउ तथा पास्ताको निर्यात १३ प्रतिशतले घटेको छ। यी वस्तुको निर्यात क्रमशः ३९ करोड तीन अर्ब १६ करोड, एक अर्ब २६ करोड र एक अर्ब ८२ करोड रूपैयाँ बराबरको भएको छ।
निर्यात घटेको वस्तुहरूमा पनि तेल र धागो बाहेकका वस्तुहरू नेपाली कच्चा पदार्थमा आधारित छन्।