छ महिनाअघि सुरू भएको धितोपत्र बोर्ड अध्यक्ष छनौट प्रक्रिया बीचमै रद्द भएपछि सरकारले नयाँ छनौट समिति गठन गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले पुरानै सदस्य रहने गरी नयाँ समिति गठन गरेको हो।
बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको छ। समितिको सदस्यमा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र व्यवस्थापनका प्राध्यापक उदय निरौला छन्। माघ ५ गते सुरू भएको अध्यक्ष छनौट प्रक्रिया अर्थ मन्त्रालयले गत शुक्रबार रद्द गरेको थियो।
यसअघि धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको प्रक्रियाअन्तर्गत दोस्रो चरणमा अन्तर्वार्तामा बोलाइएको पाँच जनामध्ये दुई जना मात्र उपस्थित भएपछि कानुनी अड्चन आएको भन्दै अर्थ मन्त्रालयले प्रक्रिया नै रद्द गरेको थियो।
छनौट समितिले पहिलो चरणमा १९ जनाबाट सन्तोष नारायण श्रेष्ठ, धितोपत्र बोर्डका कार्यकारी निर्देशकद्वय मुक्तिनाथ श्रेष्ठ र डा. नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की, नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईंलाई छानेको थियो।
यी पाँचमध्ये पहिलोपटक बोलाएको अन्तर्वार्तामा सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ मात्रै उपस्थित भएका थिए।
धितोपत्र बोर्डका अध्यक्षका लागि बोलाइएको पहिलोपटकको अन्तरर्वार्तामा जम्मा दुई जना उम्मेदवार मात्रै पुगेपछि बाँकी तीन जनालाई दोस्रोपटक बोलाइएको थियो। दोस्रोपटक पनि उनीहरू अनुपस्थित भए।
यसपछि बोर्डको अध्यक्ष छनौट समितिले महान्यायाधिवक्ताको कार्यालयसँग कानुनी अड्चनको विषयमा राय मागेको थियो।
महान्यायाधिवक्ताको कार्यालयले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा अन्तर्वार्तामा सहभागी भएका दुई जनालाई मात्रै सिफारिस गर्न नमिल्ने व्याख्या गरेको थियो।