चालु आर्थिक वर्षमा समग्र अन्तर्राष्ट्रिय व्यापार घटेको छ।
तर, आयातमा केन्द्रित भन्सार विभागले उठाउने राजस्व भने ८ प्रतिशतले बढेको छ। लक्जरी तथा बढी भन्सार शुल्क लाग्ने वस्तुहरूको आयात बढ्नु तथा कतिपय वस्तुको आयात मूल्य घटेर पनि परिमाण वृद्धिका कारण समग्रमा राजस्व बढेको छ।
भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्काका अनुसार चालु वर्षको ११ महिनामा तीन खर्ब ८४ अर्ब रुपैयाँको भन्सार राजस्व उठेको छ। यो गत वर्षको यसै समयमा उठेको भन्सार राजस्वको तुलनामा ४० अर्ब रूपैयाँ बढी हो। जबकी समग्र आयात भने २७ अर्ब रुपैयाँले घटेको छ।
यसरी उठेको राजस्वमा १० थरीका वस्तुको आयातको ४१ प्रतिशत योगदान रहेको छ। यी वस्तुको आयातबाट मात्रै एक खर्ब ५८ अर्ब रूपैयाँ बढीको राजस्व उठेको छ।
१४ खर्ब ५३ अर्बको सामान आयात हुँदा भन्सार विन्दुमा तीन खर्ब ८४ अर्ब अर्थात् आयात मूल्यको २६ प्रतिशत राजस्व उठेको छ।
तर, १० वटा त्यस्ता वस्तु जसको आयात मूल्यको ४० प्रतिशत राजस्व भन्सार विन्दुमा संकलन भएको छ।
गाडी, पेट्रोल, मोबाइल, कपडा तथा केही औद्योगिक कच्चा पदार्थको आयात तीन खर्ब ९१ अर्ब रुपैयाँको हुँदा राजस्व एक खर्ब ५८ अर्ब बढी उठेको हो।
यो वर्ष उल्लेखनीय रूपमा राजस्व विद्युतीय जिप, कार र भ्यानमा बढेको छ।
आर्थिक ऐन २०८० मार्फत ५१ देखि १०० किलोवाटका यस्ता विद्युतीय गाडीको ५ प्रतिशत भन्सार महसुल र १० प्रतिशत अन्तःशुल्क बढाइएको थियो। भन्सार बढेका यस्ता गाडीसहित अन्य क्षमताका विद्युतीय गाडीको पनि उल्लेखनीय आयात भएको छ।
विद्युतीय जिप, कार र भ्यानबाट उठ्ने राजस्व मात्रै ३२९ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको ११ महिनामा ११ अर्ब ६० करोड रूपैयाँका यस्ता गाडीको आयात हुँदा भन्सार विन्दुमा तीन अर्ब ११ करोड राजस्व संकलन भएको थियो।
यो वर्ष भने ३० अर्ब तीन करोड रूपैयाँ बराबरको आयात हुँदा १३ अर्ब ३६ करोड रुपैयाँको राजस्व संकलन भएको छ।
परिमाणको हिसाबमा यस्तो गाडीको आयात १९६ प्रतिशतले बढेको छ। आयात मूल्यमा भने १५८ प्रतिशतले बढ्दा राजस्व ३२९ प्रतिशतले बढेको भन्सार तथ्यांक छ। विद्युतीय गाडीको आयातमा १० देखि ८० प्रतिशतसम्म राजस्व भन्सार विन्दुमा उठाइन्छ।
विद्युतीय मात्रै नभई पेट्रोलियम गाडीको आयातबाट पनि भन्सार राजस्व उल्लेख्य बढेको छ। यस्तो राजस्व ५४ प्रतिशतले बढेर १२ अर्ब ५४ करोड संकलन भएको छ। पेट्रोलियम गाडीमा २८० प्रतिशतसम्मको भन्सार राजस्व संकलन हुने गरेको छ।
चालु वर्षको ११ महिनामा पाँच अर्ब ९ करोड रुपैयाँमा चार हजार १२ वटा यस्ता गाडी आयात भएको छ। गत वर्ष भने तीन अर्ब ५३ करोड रुपैयाँमा २६ सय ३० वटा गाडीको आयात भएको थियो।
गत वर्ष समग्र गाडीको आयात नै न्यून भएको कारण राजस्वमा ठुलो प्रभाव परेको थियो। यो पटक दुवै किसिमका गाडी आयात उल्लेखनीय बढेको छ।
गाडी आयात बढ्दै गर्दा डिजेल पेट्रोलको आयात भने खासै बढेको छैन। आयात मूल्यको हिसाबले डिजेल त ६ प्रतिशतले घटेको छ। परिमाणको हिसाबले भने २ प्रतिशतले बढेको छ।
भन्सार राजस्वमा भने सबैभन्दा ठूलो योगदान डिजेलको नै छ।
चालु वर्षको ११ महिनामा डिजेल आयातबाट ५० अर्ब ४८ करोड राजस्व संकलन भएको छ। यो गत वर्षको तुलनामा ४ प्रतिशतले बढी हो। यो अवधिमा डिजेलको आयात एक खर्ब ३७ अर्ब रूपैयाँ बराबरको भएको छ।
पेट्रोलको आयातबाट ३६ अर्ब नौ करोड राजस्व संकलन भएको छ। यो गत वर्षको तुलनामा ८ प्रतिशतले बढी हो।
राजस्वमा ठूलो योगदान खाना पकाउने ग्यासको पनि छ। परिमाणको आधारमा गत वर्षको तुलनामा ग्यासको आयात बढे पनि आयात मूल्य भने घटेको छ। जसको प्रभाव राजस्वमा देखिएको छ।
यो वर्ष ग्यास आयातबाट नौ अर्ब ५२ करोड राजस्व संकलन भएको छ। गत वर्षको भन्दा ६ प्रतिशतले ग्यासको राजस्व घटेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।
स्टिल उद्योगहरूमा प्रयोग हुने एचआरसिट (स्पातको फ्ल्याट रोल्ड) आयातको कारण पनि धेरै राजस्व संकलन भएको छ। एचआरसिटको आयातबाट उठ्ने राजस्व ६० प्रतिशतले बढेको छ। चालु वर्षको ११ महिनामा यस्तो राजस्व पाँच अर्ब ५६ करोड रूपैयाँ बराबरको संकलन भएको छ।
यो वर्ष परिमाणात्मक रूपमा मोबाइल तथा टेलिफोनको आयात घटेर पनि राजस्व भने १४ प्रतिशतले बढेको छ। ११ महिनामा २७ अर्ब ११ करोड रूपैयाँको मोबाइल तथा टेलिफोन आयातबाट ५ अर्ब १४ करोड राजस्व संकलन भएको छ।
मोटरसाइकलमा अन एसेम्वल्डको आयात उल्लेखनीय बढेको छ। तयार भएका मोटरसाइकलको आयात घटेको छ। ११ महिनामा अन एसम्बल्ड र तयारी मोटरसाइकल गरी एक लाख २३ हजार ३३१ वटाको आयात भएको छ। जसबाट १४ अर्ब ६३ करोड राजस्व संकलन भएको छ। गत वर्ष भने १० अर्ब ३० करोड राजस्व संकलन भएको थियो।
तयारी कपडाको आयात पनि उल्लेखनीय बढेको छ। समग्र राजस्वमा यस्तो कपडाको आयातमा लाग्ने भन्सार महसुलको योगदान उल्लेखनीय देखिएको छ। यो वर्ष ३२ अर्ब ४१ करोडको तयारी कपडा आयात गर्दा ११ अर्ब ९ करोड राजस्व संकलन भएको छ।