राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यही कात्तिक १४ गते (शुक्रबार) बृहत् राजनीतिक संवाद गर्दैछ। कात्तिक ९ र ११ गते बसेको पार्टी सचिवालय बैठकले शुक्रबार बृहत् राजनीतिक संवाद आयोजना गर्ने निर्णय गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
‘जेन–जी पुस्ताले सुशासनको पक्षमा गरेको निर्णायक हस्तक्षेप पश्चातको परिवर्तित राजनीतिक परिवेशमा प्राप्त उपलब्धिहरुको दीगो संरक्षण गरी मुलुकको दीर्घकालीन रूपान्तरणका लागि समान सोच र शैली भएका व्यक्ति एवं समूहहरुबीच बृहत् राजनीतिक एलायन्स निर्माणको गृहकार्य स्वरुप राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न चरणमा द्विपक्षीय संवादहरू गरिरहेको यहाँलाई विदितै छ,’ बैठकपछि महामन्त्री बुर्लाकोटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
गत तीन वर्षको संघर्षशील संसदीय अनुभवको जगमा हाल छरिएर भैरहेका पहलहरूलाई एकरुपता दिने ध्येयले उक्त संवाद राखिएको बुर्लाकोटीले बताए।
‘प्रवास र स्वदेशका आम नेपाली जनताले आशा–अपेक्षा राखेका नयाँ राजनीतिक शक्तिहरू, स्वतन्त्र विचारक एवं अभियन्ता र नवयुवा पुस्ताका प्रतिनिधिहरुबीच सार्थक सहकार्य नहुँदा पश्चगमनको ढोका खोलिने अप्रिय सम्भावनाको यथार्थवोध गर्दै विविध राजनीतिक विकल्पबारे खुला छलफलका लागि यहि कात्तिक १४ गते बृहत् राजनीतिक संवाद आयोजना गर्ने निर्णय गरिएको छ,’ उनले भने।
बृहत् राजनीतिक संवादका तीन उद्देश्य रहेको उनले बताए।
पहिलो, आन्दोलनको उत्पत्ति, नतिजा र अग्रगामी सुधारका सन्देशबारे साझा बुझाइ तयार पार्नु रहेको उनले बताए।
दोस्रो लोकतान्त्रिक मान्यता, समुन्नति र राष्ट्रियताको प्रवर्द्धनका लागि बृहत् एकता र सहकार्यको रेखांकन तयार पार्ने रहेको बुर्लाकोटीको भनाइ छ।
तेस्रो उन्नत रूपान्तरणका लागि आसन्न प्रतिनिधिसभा निर्वाचनलाई रणनीतिक साझेदारीको अवसर र उपयोगिताबारेको सम्भाव्यताबारे पनि छलफल हुनेछ।
बृहत् राजनीतिक संवाद कार्यक्रमको संयोजन पार्टी उपसभापति एवं उच्चस्तरीय संवाद समिति संयोजक डा स्वर्णिम वाग्लेले गर्ने पनि बुर्लाकोटीले बताए।