अहिले बजारमा नयाँ सुनको माग निकै कम छ। सुनको मूल्य उच्च बिन्दुमा पुग्दा नयाँ सुन किन्ने ग्राहक पाउन छोडेको व्यवसायीहरूले बताएका छन्। त्यसैले उनीहरूले बैंकबाट सुन उठाएका पनि छैनन्।
नेपाल सुन चाँदी व्यवसायी महासंघले नयाँ सुनको माग नभएका कारण पछिल्लो समय बैंकबाट सुन नल्याइएको जनाएको छ।
अहिले वाणिज्य बैंकहरूले विदेशबाट सुन आयात गर्न छन् भने त्यस्तो सुन सुनचाँदी व्यवसायीका छाता संस्था मार्फत व्यवसायीलाई उपलब्ध गराइन्छ। तर, तोकिएको समयमा छातासंगठनले सुन नउठाएमा भने बैंकले खुला रूपमा पनि व्यवसायीलाई उपलब्ध गराउँछ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका महासचिव धर्म बज्राचार्यका अनुसार पछिल्लो डेढ महिनादेखि उनीहरूले नयाँ सुन ल्याएका छैनन्।
‘त्यति कारोबार छैन, सेवाग्राहीले आफ्नै सुन गलाएर नयाँ आकार बनाउन भन्नु भएकाले नयाँ सुन खरिद नगरिएको हो,’ बज्राचार्यले भने।
बैंकरहरूका अनुसार भने असार लागेपछि सुन बिक्री भएको छैन। व्यवसायीहरूले दुई साता देखि सुन नलगेको र लैजानेले पनि न्यून मात्रै लगेका कारण बैंकमा २१० केजी सुन थुप्रिएको छ।
भन्सार विभागको तथ्यांक र व्यवसायीको भनाइअनुसार पनि २०६६ सालपछि अहिलेसम्मकै न्यून सुन आयात भएको छ।
२०८० साउनदेखि २०८१ जेठसम्म २८ लाख ८७ हजार ग्राम सुन आयात भएको छ। जसको आयात मूल्य २५ अर्ब ७४ करोड रुपैयाँ छ। यसमध्ये बैंकसँग २१० केजी अर्थात् दुई लाख १० हजार ग्राम र व्यवसायीसँग पनि झन्डै दुई केजी अर्थात् २ लाख ग्राम सुन मौज्दात छ। यसको अर्थ यो २० लाख ५८ हजार ग्राम मात्रै नयाँ सुनको कारोबार भएको छ।
भन्सार विभागको तथ्यांकअनुसार गत वर्षको तुलनामा यो वर्ष सबैभन्दा बढी आयात घट्ने वस्तुको सूचीमा सुन दोस्रो नम्बरमा पर्छ। सबैभन्दा धेरै आयात गिरावट भटमासको तेलमा आएको छ।
गत आर्थिक वर्षमा ४३ अर्ब ८९ करोड रुपैयाँमा ३५ लाख ग्राम सुन आयात भएको थियो। गत वर्षको ११ महिनाको अवधिमा भने ३४ लाख ६९ ग्राम सुन ४३ अर्ब ५३ करोड रूपैयाँमा आयात भएको थियो।
आर्थिक वर्ष २०७५/७६ मा अहिलेसम्मकै सर्वाधिक ७४ लाख ग्राम सुन आयात भएको भन्सार तथ्यांकमा उल्लेख छ।
आर्थिक वर्ष २०७४/७५ मा ७२ लाख ग्राम आयात भएको छ। आर्थिक वर्ष ७३/७४ मा ५४ लाख र २०७२/७३ मा ४१ लाख ग्राम सुन आयात भएको छ।
अघिल्लो वर्ष अत्यधिक सुन आयात भएको तथा कोभिड १९ र बजार लकडाउनको कारणले आर्थिक वर्ष २०७६/७७ मा २४ लाख ३९ हजार ग्राम मात्रै सुन आएको थियो। यो वर्षलाई अपवाद मान्ने हो भने २०६६ सालदेखि कै न्यून आयात भएको पुराना सुनचाँदी व्यवसायी तेजरत्न शाक्य बताउँछन्।
व्यवसायी बज्राचार्य पनि यति कम मात्रामा सुनको माग भएको यसअघि आफूले महसुस नगरेको तर्क गर्छन्।
अन्य वस्तुको आयात जसरी २०६६ अघि सुनको आयातमा पनि खुला लाइसेन्स दिने गरिन्थ्यो। २०६६ सालपछि भने बैंकहरूले आयात गर्ने र बैंकबाट व्यवसायीले खरिद गर्ने व्यवस्था गरिएको हो।
‘कोभिडको समयमा बजार नै बन्द पनि थियो। त्यसभन्दा अघिल्लो वर्ष आयात भएको सुनको परिमाण भएको कारण बजारमा खुल्दा अहिले भन्दा चहलपहल थियो,’ नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्षसमेत रहेका तेजरत्न शाक्यले भने, ‘मेरो व्यवसायिक जीवनमा कहिले यति धेरै बजार सुनसान भएको महसुस गरेको थिएन।’
कसरी भएको छ बजारको माग पूरा
गत वर्ष मात्रै व्यवसायीहरूले सुनको कोटा नपुगेको भन्दै बढाउन माग गरेका थिए। कोभिडपछि प्रतिदिन सुनको कोटा १० केजी तोकिएको छ। त्यसअघि २० केजी कोटा थियो। व्यवसायीहरूले दैनिक सुनको माग २५ केजीसम्म रहेको भन्दै कोटा वृद्धिको माग गर्दै आएका छन्।
यो वर्ष भने औसत रूपमा दैनिक पाँच केजी पुन सुनको खपत नभएको आयात र मौज्दातको परिमाणले देखाउँछ।
यसो हुनुको पछाडि अवैध कारोबारको हिस्सा विस्तार पनि एक भएको व्यवसायीहरूको भनाइ छ।
‘हामीले माने पनि नमाने पनि ग्रे मार्केट पनि छ, अवैध रूपमा आयात हुने सुन अवैध रूपमा नै कारोबार हुन्छ तर यसको असर कुनै रूपमा वैधानिक कारोबारमा देखिएको छ,’ महासंघका महासचिव बज्राचार्यले भने।
यसको साथै अहिले करिब ३० प्रतिशत कारोबार पुरानो सुनमा केन्द्रित रहेको महासंघको तथ्यांक छ।
‘नयाँ बनाउन नसकेपछि पुरानै सुन गलाउन ल्याउने ग्राहकको संख्या बढेको छ, हाम्रो कारोबार मध्ये ३० प्रतिशत कारोबार यस्तो सुनको छ’ बज्राचार्यले भने।
तर समग्रमा भने सुनको मागमा निकै कमी आएको छ। यसको प्रभाव रोजगारीमा देखिएको व्यवसायीको भनाइ छ।
महासंघका पूर्वअध्यक्ष मोहनकुमार सुनुवार सुनको मूल्य आएको वृद्धिदरको कारण पनि नयाँ माग हुन नसेको तर्क गर्छन्। पछिल्लो समय सुनको मूल्य तोलाको एक लाख ४५ हजार अर्थात् प्रति ग्राम १२ हजार ३९३ रुपैयाँसम्म पुगेको छ। तर ११ महिनाको औसत सुनको मूल्य प्रतिग्राम ८ हजार ९१९ रुपैयाँ रहेको छ। गत वर्ष सात हजार ६६४ रुपैयाँ थियो।