पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार रूपैयाँको बजेट ल्याएको छ। सोमबार पोखरा सभागृहमा बसेको १५ औं नगर सभामा उपमेयर मञ्जुदेवी गुरूङले उक्त बजेट पेस गरेकी हुन्।
साउन १ देखि लागू हुने प्रस्तुत बजेट यस आर्थिक वर्षमा लागू भएको भन्दा एक अर्ब २६ करोड २३ लाख रूपैयाँ कम हो। चालु आर्थिक वर्षका लागि महानगरले ८ अर्ब ७७ करोड ७५ लाख रूपैयाँको बजेट ल्याएको थियो।
बजेटमा संघीय सरकारबाट चार अर्ब २० करोड २२ लाख एक हजार, प्रदेश सरकारबाट नौ करोड ६३ लाख ८१ हजार, आन्तरिक आयबाट एक अर्ब ५५ करोड ५१ लाख ४० हजार रूपैयाँ प्राप्त हुने उल्लेख छ।
महानगरले ल्याएको आगामी वर्षको बजेटमा यस आर्थिक वर्षमा भन्दा आधा कम राजस्व उठाउने लक्ष्य लिइएको छ। चालु आर्थिक वर्षका लागि महानगरले तीन अर्ब एक करोड रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। आन्तरिक आयमा आएको गिरावटका कारण राजस्व लक्ष्य आधा घटाउनुपरेको महानगरले जनाएको छ।
बजेटका अरू स्रोतहरूमा संघीय राजस्व बाँडफाँटबाट ३८ करोड ३३ लाख ७५ हजार, प्रदेश राजस्व बाँडफाँटबाट नौ करोड ७२ लाख २० हजार, स्थानीय राजस्व बाँडफाँटबाट एक अर्ब १२ करोड ८६ लाख ६१ हजार र रोयल्टी बाँडफाँटबाट ५४ लाख २४ हजार र नगर विकास कोष ऋण चार करोड ४८ लाख ८० हजार रूपैयाँ आउने अनुमान छ।
बजेटमा शिक्षा, खेलकुद तथा युवा र प्रज्ञा प्रतिष्ठान सम्वन्धी कार्यक्रम सञ्चालन गर्न एक अर्ब ६५ करोड, स्वास्थ्यमा ३५ करोड, पर्यटन तथा सहरी विकासका कार्यक्रम सञ्चालनका लागि ५६ करोड, सामाजिक विकास अन्तर्गत लक्षित वर्गतर्फ ६ करोड र संस्थागत विकासतर्फ दुई करोड रूपैयाँ विनियोजन गरिएको उपप्रमुख गुरूङले बताइन्।
यस्तै, पर्यटन, कृषि, उद्योग तथा व्यापार, हरित दिगो र विपद उत्थानशील पूर्वाधार विकास, मूल्य शृंखला सबलीकरण र बजार प्रणाली सुदृढीरण, न्यून कार्बन समाज र कार्बन तटस्थता, सरलीकृत र प्रविधिमैत्री सेवा प्रवाह, वातावरणप्रति संवेदनशील र जिम्मेवार समाजको निर्माण, नवउद्यम (स्टार्टअप) प्रवर्द्धन तथा स्वरोजगार सिर्जना र उद्यमशीलता विकास, स्वास्थ्य र उत्पादनशील जनशक्ति तयार, वित्तीय सुशासन तथा राजस्व परिचालन र महिला, विपन्न र सीमान्तकृत समुदायको आर्थिक सशक्तीकरणलाई प्राथमिकतामा राखेर बजेट ल्याएको उपप्रमुख गुरूङले बताइन्।
पूर्वाधारतर्फ मुस्ताङचोक–सहिदचोक खण्ड, चिप्लेढुंगा–सभागृह खण्ड र जिरो–विन्ध्यवासिनी खण्डमा सडक सौन्दर्यकरण तथा फुटपाथ निर्माणका लागि तीन करोड, फेवा फेरो पदमार्ग निर्माणलाई ५० लाख र ड्यामसाइड पञ्चासे पर्यटकीय मार्ग विकासका लागि ९० लाख, एसियाली विकास बैंकको सहयोगमा सञ्चालन हुने सहरी उत्थानशीलता तथा जीविकोपार्जन सुधार आयोजनाका लागि २६ करोड १६ लाख, पर्यटन लक्षित कार्यक्रमहरू सञ्चालन गर्न एक करोड ५० लाख, फेवातालको उत्तर पश्चिमी खण्डमा बायोइञ्जिनियरिङ अध्ययनको आधारमा माटोको ड्याम निर्माण गरी फेवाताल तथा सिमसार क्षेत्र संरक्षण र फेवा बिच निर्माणको काम सुरू गर्न दुई करोड, सिद्वार्थचोक—विन्ध्यवासिनी सडक खण्डमा पर्ने सम्पदा वस्तीको संरक्षण, विकास तथा प्रवर्द्धनका लागि एक करोड रूपैयाँ विनियोजन गरिएको छ।
त्यस्तै पूर्वाधार विकासमा बिपी मार्ग सडक स्तरोन्नती गर्न ८ करोड र विश्व बैंकको सहयोगमा सञ्चालित तालचोक–बेगनास, शिसुवा–शिसाघाट तथा बिरौटा–दोबिल्ला–बागमारा–कोत्रे सडकका लागि एक अर्ब ६५ करोड रूपैयाँ विनियोजन गरिएको छ।
शिक्षातर्फ सामुदायिक विद्यालयहरूको व्यवस्थापन र शिक्षाको गुणस्तर सुधार गर्न प्रधानाध्यापकहरूलाई कार्यसम्पादनका आधारमा प्रोत्साहन लागि ८४ लाख र विद्यार्थीको दिवा खाजाका लागि नेपाल सरकारले प्रदान गरेको प्रति विद्यार्थी प्रतिदिन १५ रूपैयाँमा महानगरपालिकाबाट १० रूपैयाँ थप गरी प्रतिदिन २५ रूपैयाँ पुर्याउन चार करोड ३० लाख रूपैयाँ विनियोजन गरिएको छ।
बजेट प्रस्तुत गदै उपप्रमुख गुरूङले महानगरबाट सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयले उत्कृष्ट नतिजा हासिल गरेकाले शिक्षालयको पूर्वाधार निर्माण तथा शैक्षिक कार्यक्रम सञ्चालनका लागि एक करोड ६५ लाख छुट्ट्याइएको, बालविकास केन्द्र सहयोगी कार्यकर्ता, विद्यालय सहयोगी र विद्यालय कर्मचारीहरूका लागि तलबभत्ता अनुदानतर्फ चार करोड ७० लाख रूपैयाँ विनियोजन गरिएको जानकारी दिइन्।
शिक्षातर्फ महिला शिक्षकहरूको प्रसूति बिदामा दैनिक शिक्षण सिकाइ प्रभावित हुन नदिन सट्टा शिक्षक व्यवस्थापन गर्न २५ लाख र स्थानीय कला, संस्कृति, साहित्य, संगीत तथा प्राज्ञिक क्षेत्रमा क्रियाशील महानगरस्तरको पोखरा प्रज्ञा प्रतिष्ठानलाई आवश्यक बजेट व्यवस्था गरिएको छ।
सामाजिक विकासतर्फ विपन्न, एकल एवं लक्षित वर्गका महिलाहरूको उद्यमशीलता विकासका लागि सञ्चालित चक्रीय कोषमा आधारित उपप्रमुखसँग महिला कार्यक्रमको निरन्तरताका लागि आगामी आर्थिक वर्ष थप एक करोड रूपैयाँ विनियोजन गरिएको छ।
सहरी गरिबी न्यूनीकरण कार्यक्रम अन्तर्गत लुमन्ती र महानगरपालिकाको साझेदारीमा विपन्न वर्गको आयआर्जन र आवास निर्माणका लागि १५ करोड रूपैयाँ विनियोजन गरिएको छ।
एकीकृत पञ्चासे क्षेत्र विकास योजना, नौ ताल जोड्ने साइकल मार्ग, फेवा लेक अर्गानिक ट्रेल, विन्ध्यवासिनी सम्पदा क्षेत्र विकास परियोजना लगायत कार्यक्रम सञ्चालनका लागि बजेट विनियोजन गरिएको उपप्रमुखले बताइन्।