मेयर हर्क साम्पाङ र अरू जनप्रतिनिधिहरूबीच कुरा नमिल्दा सुनसरीको धरान उपमहानगरमा सोमबार नगरसभा नै हुन सकेन।
धरानस्थित सैनिक भवनमा दिउँसो ३ बजे सुरू हुने भनिएको नगरसभा जनप्रतिनिधि बीचको विवादले हुन नसकेको हो।
नगरसभा आयोजना हुन नसक्नुमा मेयरले अरू जनप्रतिनिधिलाई र अरूले मेयर साम्पाङलाई दोषी बताएका छन्।
‘उहाँहरूले नगरसभामा बस्नै नमानी बहिष्कार गर्नुभयो त्यसैले सभा नै भएन’, मेयर साम्पाङले भने, ‘मेरो कारणले यस्तो भएको होइन।’
तर, उपमहानगरका प्रवक्ता सूर्यबहादुर भट्टराई मनोजले भने कार्यपालिका बैठकको निर्णय विपरीत मेयरले जबरजस्ती गर्न खोज्दा यस्तो अवस्था आएको बताएका छन्।
‘तीन बजेको नगर सभामा मेयर आफै ६ बजे मात्रै आउनुभयो,’ उनले भने, ‘अनि फेरि मेयरले निर्णय विपरीत बजेटको सिलिङ तोड्ने काम गर्नुभयो। उहाँ विधि विपरीत हिँड्न खोज्दा यस्तो अवस्था आएको हो।’
धरानमा स्वतन्त्र उम्मेदवार बनेर मेयर बनेका साम्पाङ र अरू जनप्रतिनिधिबीच सुरूदेखि नै विवाद छ। यही विवादले धरानमा अहिलेसम्म समयमा नीति कार्यक्रम र बजेट आउन सकेको छैन।
सोमबारको नगर सभामा पनि मेयर साम्पाङले नीति कार्यक्रम मात्रै लैजान र बजेट पछि लैजाने प्रस्ताव गरेका थिए। कार्यपालिका बैठकमा अरूले भने उनको प्रस्ताव अस्वीकार गरेका थिए।
सुनसरीकै अर्को उपमहानगर इटहरीमा पनि बजेटको सिलिङ विवादकै कारण यतिबेलासम्म नगरसभा सुरू हुन सकेको छैन।
स्थानीय तहहरूले असार १० गतेभित्र आउँदो आर्थिक वर्षको अनुमानित आय–व्यय बजेट पालिका सभामा पेश गर्नुपर्ने हुन्छ। तर, कोशीका दुईमध्ये धरानको बजेट आज नआउने निश्चित हुँदा इटहरीको अहिलेसम्म के हुने टुंगो लागेको छैन।
इटहरी उपमहानगरपालिकाले बजेट पेश गर्ने भनेर आज दिउँसो १ बजेको लागि नगर सभा आह्वान गरेको थियो। तर, बजेटको सीमा समेत निर्धारण हुन नसकेको इटहरीले १ बजेको लागि बोलाएको नगर सभा ५ बजेलाई सारेको थियो। अढाइ घन्टा बितिसक्दा पनि सभा सुरू हुने नहुने टुंगो छैन।