रूपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा प्रमुख प्राथिमकतामा राखेको कृषि क्षेत्रमा बजेट विनियोजनमा भने उपेक्षा गरिएको छ।
नगरपालिकाले कृषि, पशुपालन र सिँचाइलाई प्रमुख प्राथमिकतामा राख्दै गत बिहीबार नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो।
'बरू म गर्छु कृषिः तर कहीँ जान्नँ देश बिर्सी' भन्ने नारासहित स्वदेशमै कृषि उद्यम गर्न चाहने युवाहरूको प्रोत्साहनको लागि नगर प्रमुख किसान कार्यक्रम, नगर प्रमुख सिँचाइ विकास कार्यक्रम जस्ता नीति तथा कार्यक्रम अगाडि सारेको नगरपालिकाले कृषि क्षेत्रका लागि जम्मा शून्य दशमलव ८५ प्रतिशत मात्र बजेट विनियोजन गरेको छ।
सोमबार बजेट प्रस्तुत गर्दै नगरपालिकाका उपप्रमुख जगेश्वरदेवी चौधरीले समग्र कृषि, पशुपालन तथा सिँचाइका लागि जम्मा २ करोड ३७ लाख ७९ हजार बजेट विनियोजन गरिएको जानकारी दिइन्।
नगरपालिकाले नीति तथा कार्यक्रममा भने कृषि उत्पादनमा आत्मनिर्भर पालिका बनाउने भन्दै प्राङ्गारिक मल खरिद, मकै, गहुँ तरकारीको बिउ, फलफूलका बिरूवा, घाँसका बिउ, साना सिँचाइ, फूलखेती, व्यावसायिक तरकारी खेती, बाली बीमा, पशु बीमामा अनुदान दिने उल्लेख गरेको थियो।
त्यस्तै, हरियो तरकारी, ताजा फलफूल र अन्नको सुरक्षित भण्डारणका लागि शीत भण्डारण निर्माण, तिलोत्तमा किसान कार्ड वितरण, वडा नं. ६ लाई दुग्ध उत्पादन पकेट क्षेत्र घोषणा लगायतका आकर्षक योजना अगाडि सारेको नगरपालिकाले बजेटमा भने समग्र कृषि क्षेत्रलाई पछाडि राखेको छ।
कुल २ अर्ब ७६ करोड ६२ लाख २२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई भने बजेटमा मुख्य प्राथमिकता दिएको छ।
उपप्रमुख चौधरीले प्रस्तुत गरेको बजेटमा शिक्षातर्फ ४५ करोड ६९ लाख ८५ हजार बजेट विनियोजन गरिएको छ भने स्वास्थ्यमा ९ करोड ४५ लाख २२ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ।
नगरपालिकाले शिक्षातर्फ कुल बजेटको १६ दशमलव ५२ प्रतिशत र स्वास्थ्यतर्फ ३ दशमलव ४१ प्रतिशत छुट्याएको हो। त्यस्तै सबैभन्दा बढी भवन, सहरी विकास र पूर्वाधारमा ९८ करोड ७१ लाख रुपैयाँ छुट्याइएको छ। यो रकम कुल बजेटको ३५ दशमलव ६८ प्रतिशत हो।
नीति तथा कार्यक्रममै आगामी वर्ष लैंगिकमैत्री नगरपालिका घोषणा गर्ने जनाएको तिलोत्तमाले लैंगिक समानता तथा सामाजिक समावेशीकरणका लागि २ करोड ७९ लाख ७५ हजार रुपैयाँ छुट्याएको छ।
उपप्रमुख चौधरीले आगामी वर्षका लागि चालु आर्थिक वर्षभन्दा २ करोड ७७ लाख ८३ हजार रुपैयाँले बजेट वृद्धि गरिएको जानकारी दिइन्। नगरपालिकाले चालु आर्थिक वर्षमा २ अर्ब ७३ करोड ८४ लाख ३९ हजारको बजेट ल्याएको थियो।
आगामी वर्षका लागि प्रस्तुत गरिएको बजेटमा चालु खर्चतर्फ १ अर्ब २३ करोड ४३ लाख ७४ हजार र पूँजीगत तर्फ १ अर्ब ५० करोड २३ लाख ४८ हजार खर्च हुने अनुमान गरिएको छ।
आम्दानी तर्फ आन्तरिक स्रोतबाट ३२ करोड ६६ लाख २५ हजार र अन्तर सरकारी वित्तिय हस्तान्तरण तथा बचतबाट २ अर्ब ४३ करोड ९५ लाख ९७ हजार रुपैयाँ प्राप्त गर्ने लक्ष्य लिएको उपप्रमुख चौधरीले जानकारी दिइन्।