विराटनगर महानगरले पत्रकारहरूको क्षमता विकास गर्ने भन्दै नीति कार्यक्रममै योजना घोषणा गरेको छ। यति मात्रै होइन, महानगरले पत्रकारहरूलाई खोज पत्रकारिताको सीप सिकाउन पनि लगानी गर्ने नीति लिएको छ।
विराटनगर महानगरले सोमबार ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक बजेट सार्वजनिक गरेको छ।
आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रम अनि बजेटमा महानगर पत्रकारहरूप्रति उदार देखिएको छ।
नीति कार्यक्रमको सूचना तथा सञ्चार शीर्षकमा महानगरले भनेको छ ‘खोज पत्रकारिताको विकासका लागि महानगरमा भएका पत्रकारहरूसँग अन्तर्क्रिया तथा पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि पत्रकारिता क्षमता विकास कार्यक्रम सञ्चालन गरिनेछ।’
महानगरपालिकाबाट हुने सबै गतिविधिहरूका बारेमा नगरवासीलाई विभिन्न सञ्चार माध्यमबाट सुसूचित गर्ने नीति लिइने उल्लेख गर्दै महानगरले भनेको छ, ‘स्थानीय जनतालाई दैविक प्रकोप तथा महामारी लगायत अन्य सूचना तथा विज्ञापनको जानकारी आवश्यकतानुसार लोककल्याणकारी सन्देशमूलक सूचना तथा विज्ञापन स्थानीय सञ्चार माध्यमलाई प्राथमिकतामा राखी प्रकासन तथा प्रसारण गरिनु साथै स्थानीय सञ्चार माध्यमलाई संस्थागत विकासका लागि उपलब्ध गराउँदै आएको सहयोगलाई निरन्तरता दिइनेछ।’
नीति कार्यक्रममा महानगरले भनेको छ, ‘स्थानीय सञ्चार माध्यमहरूको संस्थागत विकासका लागि महानगरबाट दिइने मासिक आर्थिक सहयोग पाउन योग्य सञ्चार माध्यमहरूले कात्तिक मसान्तसम्ममा महानगरमा सूचीकृत भइसक्नुपर्नेछ अन्यथा रकम उपलब्ध गराइने छैन।’
त्यसैगरी युवा तथा विद्यार्थीहरूलाई पत्रकारितासम्बन्धी क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्ने योजना पनि महानगरले अगाडि सारेको छ। यसबाहेक जनप्रतिनिधिहरूका लागि उद्धघोषण तथा भाषणकला सम्बन्धी क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने विषय पनि सूचना तथा सञ्चार शीर्षकमै समेटिएको छ।
महानगरले सञ्चार नीति तयार गरी कार्यान्वयनमा ल्याउने पनि जनाएको छ।
सोही शीर्षकमा महानगरले ‘महानगरमा बसोबास गरी राष्ट्रिय तथा अर्न्तराष्ट्रियस्तरमा ख्याति प्राप्त महत्वपूर्ण व्यक्तिहरूको अभिलेखीकरण गर्ने’ पनि उल्लेख गरेको छ।
पत्रकारिता तालिममा महानगरले किन लगानी गर्न खोजेको हो भन्ने प्रश्न गर्न खोज्दा मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्की दुवैको सचिवालयले उनीहरू नगर सभामा व्यस्त रहेको जानकारी दियो।
महानगरका एक जना वडाध्यक्षले भने सञ्चार जगतलाई प्रोत्साहित गर्ने अन्य बाटो अपनाउन छाडेर महानगरले सजिलो बाटो हिँड्न खोजेको बताए।
‘महानगर नेतृत्वले आफ्नो आस्थासँग मिल्ने पत्रकार संगठन त्यसमा पनि निकट रहेकाहरूलाई बजेट उपलब्ध गराउन यस्ता कार्यक्रम घुसाएको हो,’ ती वडाध्यक्षले भने, ‘तर, यस्ता कार्यक्रमले सिंगो सञ्चार क्षेत्रले लाभ पाउँदैन।’