शिक्षा, स्वास्थ्य, रोजगारलाई विशेष प्राथमिकता दिँदै बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि झण्डै तीन अर्बको बजेट प्रस्तुत गरेको छ।
आइतबार नगरसभाको १५ औं अधिवेशनको तेस्रो बैठकमार्फत् उपप्रमुख सावित्रादेवी अर्यालले २ अर्ब ९९ करोड २२ लाख बराबरको बजेट प्रस्तुत गरेकी हुन्।
उपमहानगरपालिकाले प्रस्तुत गरेको आगामी वर्षको बजेट चालु वर्षको भन्दा ६२ करोड ६८ लाखले बढी हो। चालु आर्थिक वर्ष २०८०/८१ का लागि उपमहानगरपालिकाले २ अर्ब ३६ करोड ५४ लाख रुपैयाँको बजेट ल्याएको थियो।
आगामी वर्षको प्रस्तुत बजेटमा चालुतर्फ ४८ दशमलव ६५ प्रतिशत र पुँजीगततर्फ ५१ दशमलव ३५ प्रतिशत रहने अनुमान गरिएको उपप्रमुख अर्यालले बताइन्। त्यस्तै, आन्तरिक स्रोतबाट ८५ करोड राजस्व संकलन गर्ने बुटवलले अनुमान गरेको छ।
शिक्षा, स्वास्थ्य, रोजगारीलाई विशेष प्राथमिकता दिइएको बजेटमा पर्यटन, कृषि, पशुपंक्षी विकास, मानव संशाधनको विकासका क्षेत्रलाई पनि प्राथमिकता दिइएको छ।
वडा नम्बर १३ र १७ मा निर्माण सम्पन्न भएका अस्पताल सञ्चालन तथा वडा नम्बर १३ मा फिजियोथेरापी अस्पताल र १७ मा जनरल अस्पताल सञ्चालन गर्ने गरी बुटवलले बजेट विनियोजन गरेको छ।
सार्वजनिक निजी साझेदारी कार्यक्रममार्फत वडा नं. ११ मा १ सय बेडको अस्पताल स्थापनाका लागि ५ करोड रुपैयाँ छुट्याइएको उपप्रमुख अर्यालले जानकारी दिइन्।
सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्न १ करोड रुपैयाँ, नगरमातहतका अस्पताल, स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्रहरुको स्तरोन्नतिका लागि १ करोड रुपैयाँ छुट्याएको छ।
शैक्षिक संस्थाहरूको भौतिक पूर्वाधार विकासको लागि ५ करोड, बुटवल टेक्निकल इन्स्टिच्युटसँगको सहकार्यमा ४० जना छात्रालाई निःशुल्क प्राविधिक शिक्षाका लागि २५ लाख, कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई दिवा खाजाको लागि उपलब्ध गराउँदै आएको १० रुपैयाँमा थप गरी २५ रुपैयाँ बनाइएको छ भने ट्राफिक लाइट जडानको लागि ४ करोड रुपैयाँ छुट्याइएको छ।
जितगढी किल्ला, रामापिथेकस पार्क, मणिमुकुन्दसेनको ग्रीष्मकालीन दरबार र जितगढी युद्ध संग्रहालयलाई नगरको गौरव सम्पदाका रूपमा अगाडि सारेको उपमहानगरपालिकाले तिनाउ आरती केन्द्र स्थापनाका लागि ३ करोड बजेटको विनियोजन गरेको छ।
उपमहानगरपालिकाले बुटवलदेखि नुवाकोट जाने पैदलमार्ग निर्माणको लागि १ करोड तथा पैदलमार्गमा शिव मूर्ति र हिलपार्कमा बुद्धमूर्ति निर्माणका लागि २ करोड रुपैयाँ बजेटमा समावेश गरेको छ।
महिलाहरूलाई रोजगारसँग जोड्न नगरप्रमुख गृहिणी महिला स्वरोजगार कार्यक्रमका लागि ३ करोड, बिक्री केन्द्र स्थापनामा प्रोत्साहन गर्न १ करोड र महिला उद्यमी आत्मनिर्भर कार्यक्रमका लागि ५० लाख बजेट विनियोजन गरिएको उपप्रमुख अर्यालले बताइन्।
बुटवलका लागि ल्याइने झुम्सा खानेपानी आयोजनाको मुहान क्षेत्रका बासिन्दा लाभान्वित हुने गरी पाल्पाको तिनाउ गाउँपालिकामार्फत् विकासका कार्य गर्न बुटवलले २ करोड छुट्याएको छ।
सडक निर्माणका क्रममा पुराना चौतारी तथा प्रतिक्षालयहरू नासिएपछि नयाँ निर्माणका लागि पनि २ करोड रुपैयाँ छुट्याइएको छ।
उपमहानगरपालिकाले छाडा चौपाया व्यवस्थापन, सञ्चार क्षेत्रको सबलीकरण, सञ्चारग्राम स्थापना, किसानलाई पाडी वितरण, क्रिकेट मैदान निर्माण, खेलाडीहरुलाई छात्रवृत्तिका लागि पनि पर्याप्त बजेट विनियोजन गरेको छ। त्यस्तै पछिल्लो समय रोकिएको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालनका लागि ३५ लाख रुपैयाँ छुट्टाएको छ। उपमहानगरपालिका तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको संरक्षक समेत रहँदै आएको छ।
यस्तै जातीय भाषा, संस्कृति, कला संरक्षण र प्रवर्द्धनका क्षेत्रलाई पनि बुटवलले बजेटमा समावेश गरेको छ। राजस्व संकलनलाई बढाउन सबै व्यवसाय करको दायरामा ल्याउनको लागि स्पेशल टास्क फोर्स गठनको विधि अपनाउने पनि उपप्रमुख अर्यालले बताइन्।