अर्थसचिव मधुकुमार मरासिनीले आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म पुर्याउन सकिने बताएका छन्।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आइतबार आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफल कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन्।
'पछिल्लो समय अर्थतन्त्र सुधार हुँदै गएकोले आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म पुर्याउन सकिन्छ, हामीले ६ प्रतिशतको मात्रै लक्ष्य राखेका छौं,' मरासिनीले भने, 'त्योभन्दा पनि बढी हासिल गर्ने गरी काम गर्न सकिने स्थिति बनिरहेको छ।'
उनले अहिले अर्थतन्त्र सही मार्गमा अघि बढेको र आर्थिक गतिविधि बढ्ने स्थिति बनिसकेको बताए।
तर, त्यसलाई तीव्रता दिन र अर्थतन्त्रमा चाँडो सुधार ल्याउन हाल चलिरहेको भाष्यमा सुधार ल्याउन आवश्यक रहेको बताए।
'यो भाष्यलाई परिवर्तन गर्नुपर्छ, अर्थतन्त्र कन्फिडेन्सले पनि चल्ने हो। मुहार हेरेर पनि कारोबार गर्नु पर्ने अवस्था आउन सक्छ,' उनले भने, 'बैंकर साथीहरूले पनि यो विषयमा मनन गर्नुपर्छ।'
यस्तै, उनले प्रतिव्यक्ति आयको हिसाबमा एसियामा नेपाल केही पछाडि भए पनि वित्तीय स्थिरता तथा आधारभूत सूचकहरूमा अन्य देशको तुलनामा अगाडि नै रहेको धारणा राखे।
उनले पछिल्लो समय अधिकांश मानिसहरूले बजेटको भन्दा मौद्रिक नीति माथि विश्वास गर्दा चिन्ता र चुनौती पनि थपिएको बताए।