लगातार दुई आर्थिक वर्ष नेपालको अन्तर्राष्ट्रिय व्यापार घट्ने भएको छ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा नेपालको अन्तर्राष्ट्रिय व्यापारमा करिब २ प्रतिशतको गिरावट आएको छ।
कतिपय वस्तुको मागमा आएको कमी तथा धेरै उपभोग हुने पेट्रोलियम पदार्थको मूल्यमा आएको कमी, निर्माण सामग्रीको कच्चा पदार्थ आयात गरी तयारी वस्तु नेपालमा बन्न थालेपछि यसको असर अन्तर्राष्ट्रिय व्यापारमा देखिएको छ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म १५ खर्ब ९२ अर्ब ९६ करोड रूपैयाँको अन्तर्राष्ट्रिय व्यापार भएको छ।
यो पछिल्लो तीन वर्ष यताकै न्यून व्यापार हो। गत वर्ष जेठ मसान्तसम्म १६ खर्ब २४ अर्ब ५७ अर्ब रूपैयाँको अन्तर्राष्ट्रिय व्यापार भएको थियो। त्यस्तै आर्थिक वर्ष २०७८/७९ को जेठ महिनासम्म १९ खर्ब ४९ अर्ब रूपैयाँको अन्तर्राष्ट्रिय व्यापार भएको थियो।
आयात र निर्यात व्यापार नै तीन वर्ष यताकै न्यून देखिएको छ।
आयात व्यापार चालु वर्षको जेठ महिनासम्म १४ खर्ब ५३ अर्ब ७० करोड पुगेको छ।
गत वर्षको यही अवधिमा १४ खर्ब ८१ अर्ब बराबरको थियो। आर्थिक वर्ष २०७८/७९ को जेठ महिनासम्म भने १७ खर्ब ६३ अर्ब रूपैयाँ पुगेको थियो।
निर्यात व्यापार चालु वर्षको वर्षको जेठ महिनासम्म एक खर्ब ३९ अर्ब रूपैयाँको भएको छ। गत वर्ष यही अवधिमा एक खर्ब ४३ अर्ब थियो भने आर्थिक वर्ष २०७८/७९ को जेठ महिनासम्म एक खर्ब ८५ अर्ब पुगेको थियो।
समग्रमा व्यापार घटेर पनि राजस्व भने बढेको छ। भन्सार विभागको तथ्यांक अनुसार विभागमार्फत् उठ्ने राजस्व ८.४५ प्रतिशतले बढेको छ।
जेठ महिनासम्म भन्सार विभागले तीन खर्ब ८६ अर्ब राजस्व संकलन गरेको छ। गत वर्षको जेठ महिनासम्म तीन खर्ब ५५ अर्ब राजस्व संकलन गरेको थियो।
लक्ष्यको तुलनामा भने ६७ प्रतिशत मात्रै राजस्व संकलन भएको छ।
सरकारले जेठसम्म ५ खर्ब ७६ अर्ब भन्सार राजस्व उठ्ने लक्ष्य राखेको थियो। भन्सार अधिकारीहरूका अनुसार यसको लागि कम्तीमा २५ प्रतिशत आयात व्यापार बढेको हुनुपर्ने हुन्छ।
भन्सार विभागले उठाउने पाँच किसिमका कर शीर्षकमा सडक निर्माण तथा सम्भार दस्तुर मात्रै लक्ष्यभन्दा बढी उठेको छ। यस्तो दस्तुरको लक्ष्य ४ अर्ब १६ करोड राखिएकोमा ४ अर्ब ९५ करोड पुगेको छ।
सडक मर्मत तथा सुधार दस्तुर ६ अर्ब ७५ करोड, अन्तशुल्क ३४ अर्ब २१ करोड, भन्सारबाट उठ्ने मूल्य अभिवृद्धिकर एक खर्ब ६८ अर्ब संकलन भएको छ। त्यस्तै भन्सार महसुल एक खर्ब ७२ अर्ब संकलन भएको छ।
राजस्वमा महत्त्वपूर्ण योगदान गर्ने तयारी निर्माण सामग्री तथा पेट्रोलियम पदार्थ र पेट्रोलियम गाडीको आयात बढ्न नसकेको कारण अपेक्षित राजस्व संकलन प्रभावित भएको भन्सार विभागका अधिकारीले बताएका छन्।
भन्सार राजस्वमा उल्लेखनीय हिस्सा ओगटेको पेट्रोलियम सवारी साधनको आयातमा कमी आई न्यून महसुल दर भएका विद्युतीय सवारी साधनको पैठारी बढेकोले अपेक्षित राजस्व संकलन प्रभावित भएको अधिकारीले बताए।
गत आर्थिक वर्षको जेठसम्म १४ अर्ब ८ करोड मूल्यका सबै किसिमका गरी कुल २२ हजार ३०९ वटा विद्युतीय सवारी साधन पैठारी भएको थियो।
चालु आर्थिक वर्षको सोही अवधिमा ३४ अर्ब ७९ करोड मूल्यका ३३ हजार ३६७ वटा विद्युतीय सवारी साधन पैठारी भएको छ।
पेट्रोलियम गाडीको सट्टा विद्युती गाडी बढ्दा राजस्व कम उठेको उनीहरूको भनाइ छ।
पैठारी भएका विद्युतीय सवारी साधनको स्थानमा पेट्रोलियम सवारी साधनको आयात भएको भए करिब ६४ अर्ब ६९ करोड रूपैयाँ थप राजस्व संकलन हुने भन्सार विभागले जनाएको छ।