रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
नगरपालिकाको एक उत्पादनलाई विशेष उत्पादनका रुपमा पहिचान गरी ‘मेड इन् तिलोत्तमा’को अवधारणामा लैजाने गरी नगर प्रमुख रामकृष्ण खाणले नगरपालिकाको दोस्रो नगरसभा तथा पाँचौं अधिवेशनमार्फत नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।
युवाहरु विदेश पलायन हुँदै गर्दा खेतीयोग्य जमिन बाँझो पल्टिएको र खाद्यान्न आयातमा करोडौं रुपैयाँ विदेश निर्यात भइरहेकोले युवाहरुलाई कृषि र पशुपालनमा आकर्षित गर्न विशेष योजना बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ।
‘बरू म गर्छु कृषि तर कहीं जान्न देश बिर्सी' भन्ने नारालाई आत्मसाथ गर्दै स्वदेशमै कृषिकर्मको लागि प्रोत्साहन गर्ने, उत्पादित कृषिजन्य वस्तुको भण्डारणको लागि शित भण्डार निर्माण, मल,सिँचाई सुविधाका लागि किसान कार्ड बनाउने, पशुपालक कृषकलाई सहुलियत दिने जस्ता योजना नीति तथा कार्यक्रममा उल्लेख छ।
सहकारीमार्फत सुलभ भेटेनरी पसल सञ्चालन गर्ने, फलफूलका बिरूवा आपूर्तिका लागि गाउँघर नर्सरी स्थापना गर्ने, वडा नं ६ लाई दुग्ध पकेट क्षेत्र घोषणा र तरकारी र फलफूल परीक्षणका लागि द्रूत विषादी परीक्षण प्रयोगशाला स्थापना जस्ता योजना नीति कार्यक्रममा समेटिएका छन्।
नगरप्रमुख खाणले नगरभित्र रहेका सामुदायिक विद्यालयको स्तरोन्नतिमा जोड दिँदै नगरप्रमुख शैक्षिक सुधार कार्यक्रम लागू गर्ने, महिला विद्यालय सञ्चालन गर्ने, नगरवासीको अध्ययन, अनुसन्धानको संस्कार वृद्धि गर्न सामुदायिक पुस्तकालय स्थापना गर्ने, विज्ञान प्रयोगशाला निर्माण एवं विद्यार्थीको विकासका लागि करियर गाइडेन्स, सृजनशील शुक्रबार, च्यालेन्ज फण्ड जस्ता कार्यक्रमलाई अगाडि सारिएको बताए।
त्यस्तै वातानुकुलीत खोप केन्द्र र जिरो होम डेलिभरी कार्यक्रमसँगै निरोगी नगर कार्यक्रमअन्तर्गत, योग, ध्यान, नागरिक आरोग्या, भान्सा सुधार जस्ता कार्यक्रम चलाइने उनले बताए। तिलोत्तमालाई आगामी वर्षभित्रै लैंगिकमैत्री र युवामैत्री पालिका घोषणा गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।
नगरपालिकामा रक्तसञ्चार केन्द्र स्थापना, मुख्य चोकमा पार्किङ स्टेसन निर्माण, ट्राम रेल, यूएचटी दुग्ध प्रशोधन केन्द्र निर्माण समेत कार्यक्रममा समेटिएको छ।
त्यस्तै नगरपालिकामा शव चिस्यानका लागि सुरक्षित प्लाण्ट निर्माण समेत नीति तथा कार्यक्रममा समेटिएको छ।
नगरप्रमुख खाणले अध्ययन तथा रोजगारीका लागि छोराछोरी विदेश पठाएका बुवाआमाको मृत्यु हुँदा लामो समय छोराछोरी पर्खनु पर्ने भएकाले त्यसका लागि शव चिस्यानका लागि सुरक्षित प्लान्ट बनाउने नीति तथा कार्यक्रममा समावेश गरिएको बताए।
पूर्णपाठः