विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडा)–२१ को बैठकमा भाग लिन विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्ग काठमाडौंमा आएका छन्।
उनले सोमबार अर्थमन्त्री वर्षमान पुनसँग भेटवार्ता गरेका छन्।
(आइडा)–२१ को बैठक भोलि (मंगलबार)देखि काठमाडौंमा सुरू भएर चार दिनसम्म चल्नेछ।
भेटमा ट्रोटसनबर्गसँगै विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ र मार्टिन रेजर तथा तथा नवनियुक्त नेपाल निर्देशक डेभिड सिस्लेनलगायत सहभागी थिए।
आकी विश्व बैंकको विकास वित्त (डिएफआई) परिचालन र रेजर दक्षिण एसिया हेर्ने उपाध्यक्ष हुन्।
भेटमा मन्त्री पुनले आइडीए–२१ बैठकको आयोजना नेपालमा गर्न पाउँदा खुसी लागेको बताए।
विश्व बैंक समूहका उच्च अधिकारीहरूको काठमाडौंमा हुने बैठकले नेपालको अन्तर्राष्ट्रियस्तरमा ख्याति बढ्ने बताए। उनले बैठकका लागि नेपाललाई छनोट गरेकामा विश्व बैंक व्यवस्थापनलाई धन्यवाद दिए।
विश्व बैंकसँग नेपालको ६ दशक लामो साझेदारी रहेको चर्चा गर्दै मन्त्री पुनले नेपालको विकासमा बैंकले उदारतापूर्वक गरेको सहयोगको प्रशंसा गरे।
मन्त्री पुनले पाइपलाइनमा रहेका दुई ठूला जलविद्युत आयोजना माथिल्लो अरुण र दूधकोशी निर्माणमा विश्व बैंकले देखाएको निरन्तरको चासो र प्रतिबद्धताको उनले सराहना गरे।
नेपाल ती दुवै आयोजना अघि बढाउन तत्पर रहेको जानकारी दिँदै उनले वित्तिय व्यवस्थापनको टुंगो छिट्टै लाग्ने बताए।
सुशासन र संस्थागत क्षमताको सुदृढीकरण तथा आगामी सन् २०२६ भित्र नेपाललाई विकासशील मुलुक (एलसिडी) मा स्तरोन्नति, जलवायु परिवर्तनका प्रभावसँग जुध्न र सार्वजनिक सेवा प्रवाह प्रभावकारी बनाउन तथा रोजगारी सिर्जनालगायत योजनाका लागि नेपाललाई सहुलियतपूर्ण कर्जामा जोड दिन मन्त्री पुनले आग्रह गरे।
उनले २१औं आइडा बैठकमार्फत् विश्व बैंकले वित्तिय सहयोगलाई मात्र नभई ज्ञान र नवप्रवर्तनका क्षेत्रलाई समेत प्राथमिकतामा राख्न अनुरोध गरे।
फरक प्रसंगमा मन्त्री पुनले नेपालको अर्थतन्त्रको आकार सानो नभई मध्यमस्तरको भएको उल्लेख गरे।