वैदेशिक लगानीको प्रतिबद्धता करिब पाँच खर्ब रूपैयाँ पुगेको छ।
उद्योग विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ११ महिनामा ४४ अर्ब ४० करोड रूपैयाँको लगानी प्रतिबद्धता आएको छ। यो सँगै हालसम्म आएको लगानी प्रतिबद्धता चार खर्ब ९४ अर्ब ३६ करोड रूपैयाँ पुगेको छ।
चालु आर्थिक वर्षको ११ महिना (२०८० साउनदेखि २०८१ जेठसम्म) आएको वैदेशिक लगानी प्रतिबद्धता गत वर्षको तुलनामा ३० प्रतिशतले बढी छ। गत आर्थिक वर्षको यसै समयमा ३४ अर्ब ५८ करोडको वैदेशिक लगानी प्रतिबद्धता आएको थियो।
यो गत आर्थिक वर्ष २०७९/८० को यसै अवधिको तुलनामा १० अर्बभन्दा धेरै हो। अघिल्लो आर्थिक वर्षको जेठसम्म ३४ अर्ब ५८ करोड रूपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो।
वैशाख महिनामा मात्रै ११ अर्ब बढीको लगानी प्रतिबद्धता आएकोमा जेठ महिनामा तीन अर्बको प्रतिबद्धता आएको छ।
वैशाख १६ र १७ गते काठमाडौंमा लगानी सम्मेलन गरिएको थियो। त्यसको प्रभाव लगानी प्रतिबद्धता देखिए पनि जेठ महिनामा भने देखिएको छैन।
उद्योग विभागका अनुसार जेठसम्म कुल ३५९ वटा प्रत्यक्ष वैदेशिक लगानीका प्रस्ताव स्वीकृत भएको छ।
जेठ महिनामा मात्र ५२ वटा प्रस्ताव स्वीकृत भएको विभागको तथ्यांकमा उल्लेख छ। उद्योग विभागले यस वर्ष स्वीकृत गरेको वैदेशिक लगानीबाट २० हजार बढीलाई रोजगारी उपलब्ध हुने अनुमान गरिएको छ।
यो वर्ष ३४१ साना उद्योग, १४ मध्यम उद्योग र चार वटा ठूला उद्योगमा वैदेशिक लगानीको लागि स्वीकृत दिइएको छ।