विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संस्था (आइडा) को आगामी बैठक असार पहिलो साता काठमाडौंमा आयोजना हुने भएको छ।
दाताहरू र विश्वका अति विपन्न राष्ट्रहरूबीचको साझेदारीको लागि खडा गरिएको आइडाको बैठक नेपालमा पहिलो पटक हुन लागेको हो।
असार ४ गतेदेखि ७ गतेसम्म काठमाडौंमा हुने आइडा–२१ बैठकमा ७० देशका दुई सयभन्दा बढी व्यक्ति सहभागी हुने विश्व बैंकले जनाएको छ।
शुक्रबार बैठकबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा अर्थसचिव मधुकुमार मरासिनीले आइडा–२१ को बैठकले स्रोत परिचालनका लागि आवश्यक नीति अवलम्बन गर्ने भन्ने मार्गदिशा तय गर्ने जानकारी गराए।
उनले यो बैठक नेपालमा हुँदा कुटनीतिक लाभसमेत मिल्ने बताए। विश्वका धेरै देशका प्रतिनिधिहरूको उपस्थिति हुने भएको कारण पर्यटकीय लाभ पनि नेपाललाई मिल्ने उनको भनाइ छ।
विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका देशीय निर्देशक फारिस हदाद जेर्बोसले नेपालको दिगो र समावेसी विकासका लागि आइडाले वित्तीय स्रोत उपलब्ध गराउँदै आएको बताए। आइडा परिणाम हासिल गर्न सक्षम, पारदर्शी र जवाफदेही प्लेटफर्म रहेको उनले बताए।
बैठकका क्रममा विश्वव्यापी विकासका लक्ष्य पूरा गर्न प्रयोग गरिने स्रोतहरूको संकलन र नवीकरण गर्न दाताहरू तथा ऋण लिने राष्ट्रहरू एकैठाउँमा बसेर छलफल हुने र यसले आगामी रणनीति तयार गर्ने जेर्बोसले बताए।
अर्थ मन्त्रालयअन्तर्गतको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपालले आइडा नेपालको सबैभन्दा ठूलो मध्येको एक विकास साझेदार रहेकाले जलवायु वित्तलगायत नेपालको चासो र हितका विषयमा मार्गदिशा तय गर्न यो बैठक महत्त्वपूर्ण हुने बताए।
बैठकले आइडाको स्रोत परिचालनसँग सम्बन्धित समग्र नीति तय गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए। साथै कुन क्षेत्रमा बढी लगानी चाहिन्छ र स्रोतको व्यवस्थापनको विषयमा छलफल हुने उनको भनाइ छ।
असार ४ देखि ७ गतेसम्म काठमाडौंमा हुने बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले उद्घाटन गर्ने कार्यक्रम छ।
बैठक व्यवस्थापनका लागि अर्थ सचिव मधुकुमार मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सह–सचिव श्रीकृष्ण नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरिएका छन्।
विकास साझेदारहरूको अन्तर्राष्ट्रिय गठबन्धनको भूमिकामा रहेको आइडा बैठकमा सहभागी हुन विश्व बैंकका अध्यक्ष अजय बंगालगायत उच्च पदस्थ अधिकारी सहभागी हुँदैछन्।
सन् १९६० मा स्थापना भएको आइडा विश्व बैंकको सहुलियतपूर्ण ऋण र अनुदानका अतिरिक्त आर्थिक विकासमा पछि परेका मुलुकहरूका लागि बहुपक्षीय सहायता प्रदान गर्ने निकाय हो।
आइडाले न्यून र मध्यम आय भएका विश्वसका ७५ भन्दा बढी मुलुकहरूमा सहायता उपलब्ध गराउँदै आएको छ।
आइडाको बैठक हरेक तीन वर्षमा हुने गरेको छ। यसपटक बैठकको प्रमुख एजेण्डा नेपालजस्ता विकासोन्मुख मुलुकको आर्थिक विकासमा कसरी थप सहयोग गर्ने भन्ने तय गरिएको छ।
आइडाले नेपालमा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, कृषि, पूर्वाधारलगायतका क्षेत्रमा वित्तीय सहायता र विभिन्न संस्थागत सुधारका लागि काम गर्दै आएको छ।