यात्रुले विदेशबाट ल्याउने सुनमा थप कडाइ गरिएको छ।
आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत् अर्थमन्त्री वर्षमान पुनले व्यापारिक प्रयोजनमा आयात गरिने सुनको महसुलसँगै यात्रुले ल्याउन पाउने सुनको सीमा समेत घटाइएका हुन्।
यात्रुलाई दिइएको सुविधाको लाभ व्यापारिक प्रयोजनमा भएको निचोडसँगै विदेशबाट ल्याउन पाउने सुनको सीमा घटाएको अर्थका अधिकारीले बताएका छन्।
आर्थिक विधेयकबाट यस्तो व्यवस्था गरिएसँगै अब यात्रुले अधिकतम १५० ग्राम मात्रै सुन ल्याउन पाउने भएका छन्।
त्यसभन्दा बढी ल्याएको सुन भने जफत हुनुका साथै जरिवानासमेत तिनु पर्नेछ।
यसअघि विदेशबाट आउने यात्रुलाई (अन्तर्राष्ट्रिय उडानबाट आउने यात्रु) अधिकतम २५० ग्रामसम्मको सुन ल्याउने सुविधा दिइएको थियो।
जस अनुसार पुरुषका हकमा २२५ ग्राम र महिलाको हकमा २५० ग्रामसम्म सुन ल्याउन सक्ने सुविधा दिइएको थियो।
यस्तो सुविधा एक सय ग्रामले घटाएर पुरुषको हकमा १२५ ग्राम र महिलाको हकमा १५० ग्रामको व्यवस्था गरिएको छ।
यसमध्ये पुरुषका हकमा २५ ग्राम सुनको भन्सार पूर्ण छुट दिइएको छ। अर्थात् २५ ग्रामसम्म सुन ल्याउँदा पुरुषले भन्सार शुल्क तिर्नुपर्ने छैन।
महिलाको हकमा ५० ग्रामसम्मको सुनको आयातमा भन्सार तिर्नुपर्ने छैन।
पुरुषका हकमा २५ ग्रामपछिको पहिलो ५० ग्राम सुनको २० प्रतिशत महसुल लाग्ने भएको छ।
त्यस्तै त्यसमाथिको थप ५० ग्रामसम्मको सुनमा २३ प्रतिशत भन्सार महसुल लाग्ने भन्सार कार्यालयले जनाएको छ।
महिलाको हकमा पनि छुटमा लिन पाउने भन्दा बढी ५० ग्रामसम्ममा २० र त्यसपछिको दोस्रो ५० ग्रामसम्ममा २५ प्रतिशत भन्सार महसुल लाग्ने छ।
विशेषगरी अहिले शुल्क तिरेर ल्याउन पाउने सुनको सीमा घटाइएको हो।
यात्रुले ल्याउने सुनको भन्सार शुल्क भने यथावत राखिएको छ।
कतिपय अवस्थामा शुल्क तिरेर लिन पाउने सुनको विषयमा यात्रुले थाहा नपाएर जरिवाना तथा जफतमा पर्ने गरेको भन्सारका अधिकारीहरू बताउँछन्।
कुनै पुरुषले विदेशबाट आउँदा २६ ग्राम सुन ल्याएको छ भने उसले पहिले स्वःघोषणा गरेर एक ग्राम सुनको भन्सार महसुल तिर्ने पर्ने हुन्छ।
तर, उसले घोषणा गरेन र छानबिनमा पर्यो भने चोरी पैठारीमा राखिन्छ। सुन जफत गरिन्छ। सुनको मूल्य बराबरको जरिवाना तिराइन्छ।
त्यसैले भन्सार महसुल छुट दिइएको भन्दा बढी र ल्याउन पाउने सुनको सीमाभन्दा कम सुन स्वः घोषणा गर्नु पर्ने हुन्छ। अन्यथा सुन जफत हुन्छ।
तर ल्याउन पाउने भन्दा बढी सुन ल्याएको हकमा भने स्वः घोषणा गरिए पनि जफत हुने भन्सार कार्यालयले जनाएको छ।
सुन ल्याउन पाउने सीमा घटाइएसँगै व्यापारिक प्रयोजनमा आउने सुन बढ्ने र यसबाट मात्रै दुई अर्ब बढी राजस्व उठ्ने आकलन भन्सारको छ।
यता सरकारले सरकारले चालु आर्थिक वर्षको बजेटबाट नै व्यापारिक प्रयोजनका लागि ल्याइने सुनको भन्सार दर पनि बढाएको छ। यसअघि यस्तो भन्सार दर १५ प्रतिशतसम्म लाग्ने गरेकोमा बढाएर २० प्रतिशत पुर्याइएको हो।
यी हुन् विदेशबाट आउने यात्रुले भन्सार छुटमा ल्याउन पाउने सामान
सुन
महिलाको हकमा ५० ग्रामसम्म
पुरुषको हकमा २५ ग्रामसम्म
एक जना व्यक्तिले महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्राम बाहेक थप १०० ग्रामसम्म सुनको गहना भन्सार विन्दुमा महसुल तिरेर साथमा ल्याउन पाइने
गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औँठी, बाला, सिकी जस्ता रसायन प्रयोग नगरिएका सुनलाई गहनाको मान्यता नदिइने।
भन्सार नतिरी ल्याउन पाउने अन्य सामान
आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा
श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी विदेशमा काम गरी फर्केका यात्रुहरूले आफ्नो साथमा थप एक थान मोबाइल
श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्कने सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको नेपाली यात्रुले जुनसुकै आकार वा प्रकारको टेलिभिजन साथमा ल्याउँदा
सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका नेपाली यात्रुले भने ३२ इन्चसम्मको टेलिभिजन
लुगाफाटा तथा घर गृहस्थीका पुरानामा सामान
औषधि उपचार गराई फर्केका बिरामीले ल्याएको औषधि
ट्यावलेट वा ल्यापटप वा डेक्स्टप (तीन मध्ये एक), कम्प्युटर, घडी, दूरबिन क्यामेरा, भिडियो क्यामेरा एक थान
पेशागत यात्रुले प्रयोग गरी ल्याएका सामान एक/एक थान
सात किलोग्रामसम्म खाद्य परिकार
मदिरा एक लिटरसम्मको बोतल