नेपालमा सबैभन्दा धेरै नाफा गाडी/मोटरसाइकल बिक्री तथा मर्मतसम्भारमा राखेको पाइएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयको दोस्रो व्यापार सर्वेक्षणले सवारीसाधन बिक्री तथा मर्मतसम्भारमा सबैभन्दा बढी नाफा देखाएको हो।
सर्वेक्षणमा होलसेल व्यापार, खुद्रा व्यापार र सवारीसाधन व्यापारबारे अध्ययन गरिएको थियो।
सवारी साधन बिक्री तथा मर्मतसम्भारमा कुल २४.२ प्रतिशतको नाफा देखिएको छ।
होलसेल व्यापारमा १३.१ प्रतिशतको व्यापार नाफा देखिएको छ भने खुद्रा व्यापारमा १८.२८ प्रतिशतको नाफा देखिएको हो।
औसत व्यापार मार्जिन भने १८.५३ प्रतिशत रहेको व्यापार सर्वेक्षणले देखाएको छ।
प्रदेशगत रूपमा सबैभन्दा बढी नाफा बागमती प्रदेशका व्यापारीले राख्ने गरेको देखिएको छ भने कम कोशी प्रदेशमा देखिएको छ।
कोशीमा १६.७७ प्रतिशत, मधेशमा १९.३४, बागमतीमा १८.३७, गण्डकीमा २०.०९, लुम्बिनीमा १७.९, कर्णालीमा १९.९ र सुदूरपश्चिममा १८.३६ प्रतिशत नाफा राखेर सामान बिक्री गरेको पाइएको हो।
मुलुकभित्र रहेका थोक र खुद्रा व्यापार गर्ने जम्मा ४ लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठानमध्ये करिब ६८ प्रतिशत कुनै न कुनै प्रकारको सरकारी निकायमा दर्ता भएको नतिजाले देखाएको छ। त्यस्तै करिब ३२ प्रतिशत प्रतिष्ठानहरू दर्ता नगरी सञ्चालन भइरहेका छन्।
व्यापार क्षेत्रमा जम्मा ११ लाख ३० हजार ६४५ जना मानिस संलग्न छन्। जसमध्ये महिला ४ लाख ३ हजार ९६४ जना (३६ प्रतिशत) र पुरुष ७ लाख २६ हजार ६८१ जना (६४ प्रतिशत) रहेका छन्।
एक प्रतिष्ठानमा औसतमा दुई जना कामदार कार्यरत रहेको पाइएको छ। यसैगरी यस क्षेत्रमा संलग्न जम्मा कामदारहरूमध्ये तलब ज्याला र अन्य सुविधा पाउने कामदारहरूको संख्या दुई लाख १९ हजार ५५१ रहेको छ।
जसमा महिला ४५ हजार ९ जना (२०.५० प्रतिशत) पुरुष एक लाख ७४ हजार ५४२ जना (६०.६० प्रतिशत) छ।
यस क्षेत्रमा तलब ज्याला र अन्य सुविधा लिई काम गर्ने भन्दा तलब ज्याला र अन्य सुविधा नलिई (परिवारका सदस्य) काममा संलग्न रहेका व्यक्तिको संख्या बढी देखिएको छ।
त्यस्तै तलबी कामदार भएका व्यापारिक प्रतिष्ठानको तलब ज्याला र अन्य सुविधामा प्रति प्रतिष्ठान औसत वार्षिक छ लाख चार हजार ९१२ खर्च भएको देखिएको छ।
सर्वेक्षणले प्रत्येक प्रतिष्ठानमा कम्तीमा दुई जना काममा रहेको देखिएको छ। जसमध्ये ८० प्रतिशत वेतलबी र २० प्रतिशत तलबी देखिएको छ। यसको अर्थ व्यापारमा अधिकांश परिवारिक सदस्य संलग्न रहेर व्यापार सञ्चालन भएको तथ्यांक कार्यालयकी निर्देशक प्रभा बरालले बताइन्।