आयात निर्यात व्यापारमा सक्रिय ट्रेडरहरूको संख्या घट्दो क्रममा देखिएको छ।
आयात निर्यातको लागि आवश्यक पर्ने एक्जिम कोड (आयात निर्यात संकेत नम्बर) नवीकरण गर्नेहरूको संख्यामा आएको कमीले यस्तो संकेत गरेको हो।
एक्जिम कोड उपलब्ध गराउने निकाय भन्सार विभागको तथ्यांक अनुसार हालसम्म ३७ हजार ९५ वटा एक्जिम कोड दर्ता भएका छन्। आयात निर्यातको लागि एक्जिम कोड अनिवार्य पर्छ।
२०८० माघ महिनासम्म आइपुग्दा सक्रिय (अहिले आयात निर्यात गर्न सक्ने) एक्जिम कोडको संख्या १८ हजार ५१७ वटा मात्रै छन्।
यसको अर्थ एक्जिम कोड लिएकामध्ये हाल ७७ प्रतिशत निष्क्रिय देखिएका छन्। यी एक्जिम कोडको नवीकरण भएको छैन वा सरकारले विभिन्न कारणले 'सस्पेन्ड'मा राखेको छ।
विभागका अधिकारीहरूका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ३१ हजार ६५७ वटा एक्जिम कोड सक्रिय रहेका थिए। आर्थिक वर्ष २०७९/८० मा २४ हजार १९९ वटा मात्रै थियो। यो एक वर्षको अवधिमा २२ प्रतिशतले घटेको थियो।
चालु वर्षको माघ महिनासम्म थप २६ प्रतिशतले सक्रिय एक्जिम कोडहरूको संख्या घटेको देखिएको छ।
नयाँ एक्जिम कोड ल्याउने र नवीकरण गर्नेहरूको प्रवृत्ति पनि घटेको भन्सार तथ्यांकले देखाएको छ। गत आर्थिक वर्षको साउनदेखि पुस महिनासम्म एक हजार १११ वटा नयाँ एक्जिम कोड लिइएको थियो। त्यस्तै १२ हजार ८८६ वटा एक्जिम कोड नवीकरण गरिएको थियो।
चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको अवधिमा १० प्रतिशतले घटेर नयाँ दर्ता ९९७ वटाको मात्रै भएको छ। त्यस्तै २६.७ प्रतिशतले घटेर नवीकरण गर्ने संख्या नौ हजार ४३५ वटा पुगेको छ।
यसले आयात निर्यातमा सक्रिय व्यक्ति तथा कम्पनीहरूको संख्या निरन्तर घट्दो क्रममा रहेको देखाउँछ।
भन्सार विभागका अधिकारी तथा व्यवसायीहरू मागमा आएको कमी तथा व्यापारमा आएको गिरावटले निरन्तर आयात निर्यातमा संलग्न व्यवसायीको संख्यामा कमी आएको बताउँछन्।
आर्थिक वर्ष २०७८/७९ मा अहिलेसम्मकै सबैभन्दा बढी अन्तर्राष्ट्रिय व्यापार भएको थियो। यो वर्ष नेपालको अन्तर्राष्ट्रिय व्यापार २६.१५ प्रतिशतले बढेर २१ खर्ब २० अर्ब पुगेको थियो। जसमा आयात १९ खर्ब २० अर्ब रूपैयाँ बराबरको थियो भने निर्यात दुई खर्ब रूपैयाँ बराबरको भएको थियो।
आर्थिक वर्ष २०७९/८० मा अन्तर्राष्ट्रिय व्यापारमा १६.५८ प्रतिशतको गिरावट आएको थियो। चालु वर्षको पहिलो ६ महिनामा ३.४७ प्रतिशतले कमी आएको छ।
सक्रिय एक्जिम कोड घट्नुको पहिलो कारण आर्थिक क्रियाकलापमा आएको कमी भएको बताउँछन् नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवाल।
'जसरी आयात निर्यात घट्दै गएको छ, एक्जिम कोड नवीकरण गराउनेको संख्यामा पनि कमी आएको देखिन्छ,' अग्रवालले भने, 'यसको अर्को कारण चोरी पैठारी बढ्नु पनि हो।'
उद्योगी व्यवसायीहरू खुला सिमानाबाट चोरी पैठारी बढेको कारण वैधानिक आयात घटिरहेको गुनासो गर्दै आएका छन्।
हिमालयन सिमापार व्यापार संघका अध्यक्ष अशोक श्रेष्ठ धेरै व्यवसायीहरू व्यापारबाट पलायन भएको कारण यस्तो देखिएको तर्क गर्छन्।
'जब व्यापार नै हुँदैन, कारोबार नै बढ्दैन भने त्यही काम गर्न निरूत्साहित हुन्छ, अहिले धेरै व्यापारीहरू पलायन भएका छन्,' श्रेष्ठले भने।
भन्सारका अधिकारीहरू विभागले गरेको कडाइको प्रभाव पनि देखिएको तर्क गर्छन्। भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्काले एक साथ ७०० भन्दा बढी एक्जिम कोड सस्पेन्ड गरिएको बताए।
उनका अनुसार गत साउनमा ब्रेक शुमा राखेर सुन ल्याएको घटनापछि भन्सार एक्जिम कोडमा कडाइ गरिएको थियो।
ब्रेक शु ल्याउने कम्पनी नै भ्याटमा दर्ता नभएको पाइएपछि विभाग झस्किएको थियो।
नवीकरण तथा नयाँ एक्जिम कोड सम्बन्धित व्यक्ति तथा सम्बन्धित कम्पनीको आधिकारिक व्यक्तिलाई मात्रै दिइने, यदि विगतमा पान नम्बरबाट एक्जिम कोड लिएको छ भने भ्याट लाग्ने वस्तुको आयात भए/नभएको हेर्ने लगायतका काम विभागले गरेको थियो।
'हामीले पान नम्बरबाट एक्जिम कोर्ड लिएका सबैलाई एकै पटक सस्पेन्ड गरेका थियौं, भ्याट दर्ता नभएर पनि सामान आयात गर्न सक्नेले दिएको निवेदनको आधारमा एक्जिम कोड खुलाएका छौं, अन्यको सस्पेन्ड नै छ,' खड्काले भने।