चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालको आयात व्यापार २४ अर्ब ४९ करोड रूपैयाँले घटेको छ।
गत आर्थिक वर्ष २०७९/८० को पहिलो महिना (साउन) देखि ओरालो लागेको आयात १४ महिनापछि २०८० असोजमा आइपुग्दा बढ्यो। भन्सार विभागको तथ्यांक अनुसार असोज महिनासम्ममा १.६९ प्रतिशत आयात बढेको थियो। तर कात्तिकपछि फेरि आयात घटेको छ।
गत वर्ष पुससम्मको तथ्यांकको आधारमा यो वर्ष समग्र आयात ३.०९ प्रतिशतले घटेको छ।
आयात घट्नुका मुख्यतया दुइटा कारण हुन्छन्। पहिलो स्वदेशमा उत्पादन बढ्नु। दोस्रो स्वदेशी बजारको माग घट्नु। कतिपय वस्तुमा माग घटेको कारण आयात घटेको हुन सक्छ। कतिपय वस्तुको उत्पादन बढेकोले पनि।
उद्योगी तथा कतिपय व्यवसायीहरूले यी दुवै कारणले आयात नघटेको दाबी गर्छन्। खुला भन्सारबाट चोरी पैठारी बढेको उनीहरूको बुझाइ छ।
'हरेक दिन भन्सार छलेर सामान आउने गरेको छ, दैनिक आठ हजार बोरा चामल मात्रै भन्सार छलेर आउने गरेको हाम्रो सर्वेले देखाउँछ,' नेपाल चामल तेल दाल उद्योग संघका अध्यक्ष कुमुद दुगडले भने, 'तथ्यांकमा आयात घटेको देखिन्छ, राजस्व घट्छ, हाम्रा उद्योगहरूमा पनि समस्या हुन्छ।'
जुत्ता तथा कपडा उद्योगीहरूले पनि अवैध आयात बढेकै कारण समस्या भएको गुनासो गर्दै आएका छन्।
तर, भन्सार विभागका अधिकारीहरू चोरी पैठारी निकै घटेको दाबी गर्छन्।
'आयात घट्दा पनि राजस्व बढेको छ, यो भनेको भन्सार प्रशासनको प्रभावकारिता बढेको हो,' भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले भने।
भन्सार विभागले अहिले अनुगमन पनि बढाएको छ। गत वर्ष पुससम्म भन्सार अनुगमन गरेर १८ करोड ८६ लाख रूपैयाँ राजस्व संकलन गरेको थियो। यो वर्ष भने चार गुणा बढी ७७ करोड १७ लाख यस्तो राजस्व संकलन भएको छ। यसले भन्सार अनुगमन निकै बढेको देखाउँछ।
खासमा किन आयात घटेको छ त? यसको प्रमुख कारण अन्तर्राष्ट्रिय व्यापारमा भारतले परिवर्तन गरेको नीति र पेट्रोलियम पदार्थको मूल्य घट्नुका साथै बहुमूल्य धातुको अत्यधिक मूल्य वृद्धि देखिएको छ।
अन्तर्राष्ट्रिय व्यापारको लागि ९६ भागमा विभाजन गरिएका वस्तुहरूमध्ये चालु वर्षको ६ महिनामा ५४ भागमा पर्ने सामानको आयात बढेको छ। ४२ भाग अन्तर्गतका सामानको आयात भने घटेको छ।
भाग १५,७१,२७ र १० भित्र समेटिएका वस्तुको आयात ठूलो मात्रामा घटेको छ। भाग १५ मा वनस्पति तेलका वस्तु पर्छन्। भाग ७१ मा बहुमूल्य धातुहरू पर्छन्। भाग २७ मा खनिज तथा इन्धन पर्छ भने भाग १० मा अन्न पर्छ।
गत वर्ष ६ महिनामा भाग १५ मा पर्ने वनस्पति तेल लगायतका सामग्रीको आयात ५२ अर्ब १० करोड रूपैयाँ बराबरको भएको थियो।
चालु वर्षको ६ महिनामा यी वस्तुको आयात २५ अर्ब ३४ करोड रूपैयाँ बराबरको भएको छ। यस हिसाबले २६ अर्ब ७६ करोड रूपैयाँले यी वस्तुको आयात घटेको देखिन्छ।
गत वर्ष ६ महिनामा २३ अर्ब ८४ करोड रूपैयाँमा ११ करोड लिटर अर्ध प्रशोधित भटमासको तेल आयात भएको थियो। यस वर्ष सात अर्ब ८३ करोड रूपैयाँमा पाँच करोड १६ लाख लिटर यस्तो तेल आयात भएको छ। परिणामको आधारमा ११२ र मूल्यको आधारमा २०४ प्रतिशतले पामको आयात घटेको छ।
त्यस्तै गत वर्ष ६ महिनामा १८ अर्ब ७६ करोड रूपैयाँमा ११ करोड ६० लाख लिटर तेल अर्धप्रशोधित पाम तेलको आयात भएको थियो।
यो वर्ष सात अर्ब ५५ करोड रूपैयाँमा पाँच करोड ८४ लाख लिटर यस्तो तेल आयात भएको छ। परिमाणका आधारमा ९८ प्रतिशत र मूल्यका आधारमा १४८ प्रतिशतले आयात घटेको छ।
भटमासको तेल र पाम तेल पछिल्लो तीन वर्षदेखि निरन्तर घट्दै गएको छ।
क्रमशः पछिल्लो तीन आर्थिक वर्षको पहिलो ६ महिनाको प्रवृत्ति
पछिल्ला दुई वर्षकै आयातमा आएको गिरावटमा अर्ध तयारी तेलको योगदान निकै धेरै छ। ६ महिनामा जतिको आयात व्यापार घटेको छ त्यही परिमाणमा वनस्पति तेलको आयात घटेको छ।
यस्तो तेल नेपालको उत्पादनमा आएको वृद्धि वा मागमा आएको कमीको कारणले नभई भारतको नीतिको प्रभाव परेको हो।
पाम तेलको उत्पादन नेपालमा हुँदैन भने भटमास र सूर्यमुखीको उत्पादन नगन्य हुन्छ। यी तीनै प्रकारको तेल मलेसिया, इन्डोनेसिया, अर्जेन्टिना, ब्राजिल, चीन, टर्की, युक्रेन लगायत देशबाट आयात गरिन्थ्यो। अन्य देशबाट कच्चा उत्पादन लिएर कम्तीमा ३० प्रतिशतसम्मको मूल्य अभिवृद्धि गरेर निर्यात गर्ने सुविधा नेपाललाई छ। तर भारतले वाणिज्य सन्धिको लाभ उठाएर ३० प्रतिशत पनि मूल्य अभिवृद्धि नगरेको शंका लागेपछि नेपाललाई यस्तो लाभबाट पन्छ्याउन थालेको छ।
आर्थिक वर्ष २०७८/७९ मा भारतले अन्य देशबाट पनि कच्चा तेलमा लाग्ने कर कटौती गरेको थियो। यसपछि नेपाल हुँदै जाने तेलको तुलनामा सम्बन्धित देशबाट मगाउन सस्तो भएपछि नेपालबाट यस्तो तेलको माग आउन छोड्यो र आयात पनि घट्न गएको हो।
यस्तै भाग ७१ मा पर्ने बहुमूल्य धातुको आयात घटेको छ। गत वर्ष ६ महिनामा ३२ अर्ब ४८ करोडको यस्तो सामग्री आयात भएकोमा चालु वर्षमा १६ अर्ब ४ करोड रूपैयाँको मात्रै आयात भएको छ। मुख्यतया सुनको आयातमा आएको गिरावटको प्रभाव यहाँ परेको छ।
गत वर्ष ६ महिनामा ९ अर्ब २० करोड रूपैयाँ बराबरको १८ लाख ३५ हजार ५५५ ग्राम सुन आयात भएको थियो। चालु वर्षको ६ महिनामा ११ अर्ब ८८ करोड रूपैयाँ बराबरको १४ लाख २५ ग्राम सुन आयात भएको छ।
मूल्यमा आएको वृद्धि र सरकारको नीतिको कारण सुनको आयात घटेको सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य दाबी गर्छन्।
२०७९ चैतबाट सुनको मूल्य एक लाख रुपैयाँ माथि पुगेको थियो।
'सुनको मूल्य एक लाखमाथि भएपछि कारोबार घटेको छ,' व्यवसायी तेजरत्न शाक्यले भने, 'सरकारले पछिल्लो पटक भन्सार बढायो यसको प्रभाव पनि सुनको आयातमा परेको हो।'
सरकारले चालु वर्षमा सुनको भन्सार शुल्क १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याएको थियो।
यता सुनको अवैध कारोबार पनि बढेको शंका गरिएको छ। पछिल्ला महिनाहरूमा त्रिभुवन विमानस्थलबाट ठूलो मात्रामा सुन बरामद भएको छ। व्यवसायी शाक्य भने वैधानिक तवरबाट ल्याएको सुन नै पर्याप्त रहेकोले तस्करीको कारण आयात घटेको दाबी अस्वीकार गर्छन्।
यस्तै, धेरै आयात घट्नेमा खनिज तथा पेट्रोलियम पदार्थ पनि छ। गत वर्ष ६ महिनाको अवधिमा एक खर्ब ६४ अर्ब रूपैयाँको पेट्रोलियम पदार्थ तथा खनिज वस्तुको आयात भएको थियो। यो वर्ष भने एक खर्ब ५७ अर्ब रूपैयाँको मात्रै आयात भएको छ। यस्तो वस्तुको आयात सात अर्ब रूपैयाँले घटेको छ।
तर परिणामको हिसाबले भने यस्तो वस्तुको आयात घटेको देखिँदैन। यसको अर्थ मूल्य घटेको कारणले आयात घटेको देखिन्छ। मूल्यको आधारमा डिजेलको आयात करिब ४ अर्ब रूपैयाँले घटेको छ। गत वर्ष ६ महिनामा ७० अर्ब रूपैयाँको आयात भएकोमा यो वर्ष ६६ अर्ब रूपैयाँको मात्रै भएको छ। तर परिमाणको आधारमा हेर्ने हो भने १२ प्रतिशतले बढेको छ। गत वर्ष ६ महिनामा पाँच लाख ५० हजार किलो लिटर डिजेलको आयात भएको थियो। चालु वर्षको ६ महिनामा भने ६ लाख १८ हजार लिटर आयात भएको छ।
त्यस्तै मूल्यको हिसाबले गत वर्ष २८ अर्ब २० करोड रूपैयाँको एलपिजीको आयात भएको थियो। यो वर्ष ६ महिनामा २५ अर्ब ४५ करोडको आयात भएको छ।
मूल्यको हिसाबले आयात घटे पनि परिमाणको हिसाबले आयात घटेको देखिँदैन।
गत वर्ष ६ महिनामा २४ करोड ७८ लाख किलो एलपिजीको आयात भएकोमा यो वर्ष २५ करोड ६२ लाख किलोग्राम ग्यास आयात भएको छ। गत वर्षको तुलनामा मूल्यमा गिरावट आएको कारणले मात्रै पेट्रोलको आयात घटेको देखिएको छ।
त्यस्तै धेरै आयात घट्नेमा अन्नको योगदान पनि धेरै छ। गत वर्ष ६ महिनामा २७ अर्ब ९१ करोड रूपैयाँको अन्न आयात भएकोमा यो वर्ष २२ अर्ब २२ करोड आयात भएको छ।
अन्नको आयातमा पनि भारतको नीतिको प्रभाव देखिएको छ। सबैभन्दा बढी आयात धान चामलको घटेको छ। गत वर्ष ६ महिनामा १० अर्ब रूपैयाँको धान चामल आयात भएकोमा यो वर्ष पाँच अर्ब रूपैयाँको मात्रै धान चामलको आयात भएको छ।
भारत सरकारले चामलको निर्यातमा २० प्रतिशत भन्सार लगाउने र कनिका निर्यातमा रोक लगाउने निर्णय गरेपछि यसको प्रभाव देखिएको हो। तथापि, भारतले नेपाललाई ६ लाख मेट्रिक टन धान भने शून्य भन्सार महसुलमा उपलब्ध गराउने निर्णय गरेको थियो। सन् २०२३ मा यस्तो सुविधा नेपालले लिएकोमा यो वर्ष भन्सार छुट नभएको भन्दै धानको आयात हुन सकेको छैन। जसको प्रभाव अन्नको आयातमा देखिएको छ।
यसरी हेर्दा गत वर्षको १६ महिनाको तुलनामा समग्र आयात २४ अर्ब ४९ करोड रूपैयाँले घटेको छ। तर, वनस्पति तेलको आयात मात्रै २६ अर्ब ७६ करोड, बहुमूल्य धातुको आयात १६ अर्ब र अन्नको आयात करिब पाँच अर्ब रूपैयाँले घटेको छ।
उल्लेखित तथ्यांकले पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावट र खाद्य तथा तेलहनमा भारतले लिएको नीतिको प्रभाव नेपालको आयातमा परेको देखिएको छ।