चालु वर्षको पहिलो ६ महिनामा ब्याज करबाहेक आयकरको वृद्धिदर १८ प्रतिशत पुगेको छ। आन्तरिक राजस्व विभागको तथ्यांकअनुसार पुस मसान्तसम्म एक खर्ब १७ अर्ब रूपैयाँको आयकर (ब्याज कर बाहेक) उठेको छ।
गत वर्ष पुस मसान्तसम्म यस्तो कर ९९ अर्ब रूपैयाँ मात्रै उठेको थियो। आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले आयकरमा देखिएको सुधारले आर्थिक क्रियाकलाप र आम्दानी सुधारको संकेत गरेको बताए।
लक्ष्यको तुलनामा भने ८६ प्रतिशत यस्तो कर उठेको छ। सरकारले पुस मसान्तसम्म एक खर्ब ३५ अर्बको यस्तो कर उठाउने लक्ष्य तोकेको थियो। समग्र कर भने लक्ष्यको तुलनामा ७७ प्रतिशत मात्रै उठेको छ।
आयकर बापत उठ्ने राजस्व दृष्टिले पुस महिना आधार महिना हो। गत वर्षको आम्दानीबाट करदाताले बुझाउनु पर्ने कर यो महिनाभित्र बुझाइ सक्छन्। त्यस्तै चालु वर्षको पनि पहिलो किस्ताको आधार पुस मसान्तभित्र नै बुझाइ सक्छन्।
यसै कारण पनि पुस मसान्तलाई राजस्व प्रशासनले प्रमुख आम्दानी महिनाको रूपमा लिने गरेका छन्।
आयकर ऐनको व्यवस्थाअनुसार पुस महिनामा वार्षिक अनुमानित आम्दानीको आधारमा तिर्नुपर्ने करको ४० प्रतिशत भुक्तानी गर्नुपर्ने हुन्छ। थप ६० प्रतिशतमध्ये चैत महिनासम्म थप ३० प्रतिशतसहित ७० प्रतिशत कर तिर्नुपर्छ।
त्यस्तै असार महिनामा थप ३० प्रतिशत कर सहित शत प्रतिशत कर बुझाउनु पर्ने हुन्छ। यस हिसाबले राजस्व प्रशासनलाई चालु वर्षमा उठ्ने आयकरको विवरण करिब थाहा हुने गर्छ।
आयकरमा सबैभन्दा धेरै योगदान ठूला करदाता कार्यालयको छ। ठूला करदाता कार्यालयले वार्षिक एक अर्ब रूपैयाँभन्दा बढीको कारोबार गर्ने (५४३) करदाताको कर प्रशासन गर्छ। ठूला करदातामध्ये पहिलो किस्ताको ४० प्रतिशत बुझाएको आधारमा कुन क्षेत्र बढी आम्दानी गर्दैछ भन्ने विषयमा प्रवृत्ति हेर्न सकिन्छ।
करदाताहरूले गत वर्षको बुझाएको आयकरको आधारमा वा यो वर्ष पहिलो ६ महिनामा भएको कारोबारको आधारमा वार्षिक आम्दानी अनुमान गर्ने गर्छन्।
'मुख्यतः दुई वटा विधि प्रयोग गरेको पाइन्छ, कतिपय व्यवसायीले गत वर्ष भएको आम्दानीको ट्रेन्डको आधारमा यो वर्षको अनुमान गर्ने (गत वर्ष तीन प्रतिशतले बढेको छ भने यो वर्ष पनि तीन प्रतिशत बढ्छ), कतिले चालु वर्षमा भएको कारोबारको आधारमा आम्दानी अनुमान गरेका हुन्छन्,' पाण्डेले भने।
पुस महिनामा चालु वर्षको अनुमानित आम्दानीबाट तिर्नुपर्ने करमध्ये पुस मसान्तसम्म २६ अर्ब ३४ करोड रूपैयाँ कर तिरेका छन्। गत वर्ष यो अवधिमा २५ अर्ब ५४ करोड यस्तो कर बुझाएका थिए।
ठूला करदाता कार्यालयमा ८९ वटा बैंक तथा वित्त क्षेत्रका करदाता रहेका छन्। यी करदाताले १७ अर्ब ६७ करोड पहिलो किस्ताको कर बुझाएका छन्। गत वर्ष यही अवधिमा १६ अर्ब ७२ करोड बुझाएका थिए। यस हिसाबले यस्ता करदाताको आम्दानीमा करिब ६ प्रतिशतको वृद्धिदर देखिएको छ।
बहुराष्ट्रिय कम्पनीको कर घटेको छ। पहिलो किस्ताको (अनुमानित आयबाट तिर्नुपर्ने करको ४० प्रतिशत कर) चार अर्ब १३ करोड बुझाएका थिए। अहिले तीन अर्ब ९४ करोड मात्रै बुझाएका छन्। यी कम्पनीको कर १९ करोड रूपैयाँले घटेको छ।
सेवा क्षेत्रमा पनि सुधार देखिएको छैन। गत वर्ष पहिलो किस्ताको तीन अर्ब ६ करोड रूपैयाँ बुझाएकोमा यो वर्ष तीन अर्ब दुई करोड बुझाएका छन्।
व्यापार क्षेत्रको आम्दानीमा सुधार हुने अनुमान गरिएको छ। गत वर्ष पहिलो किस्ताको ८७ करोड बुझाएकोमा यो वर्ष एक अर्ब पाँच करोड बुझाएका छन्। यो वार्षिक एक अर्बभन्दा बढीको कारोबार गर्ने व्यापार क्षेत्रका करदाताको विवरण मात्रै हो।
कृषि क्षेत्रको आयकरमा सुधार देखिएको छैन। गत वर्ष कृषि क्षेत्रका ठूला करदाताले पहिलो किस्ताको ६६ करोड कर बुझाएका थिए। अहिले १० करोड कम ५६ करोड मात्रै बुझाएका छन्।
गैर कृषि क्षेत्रमा सामान्य बढेको देखिएको छ। गत वर्ष १० करोड बुझाएकोमा अहिले १० करोड ९० लाख पुगेको छ।
अपेक्षित रूपमा पहिलो किस्ताको आयकर नबढेको ठूला करदाता कार्यालयका अधिकारीहरूले बताएका छन्।
उनीहरूका अनुसार केही करदाताले लगानी विस्तार गरेको र केही करदाताको पहिलो किस्ता बुझाइसकेको कर मिलान गर्नुपर्ने भएको कारण पनि अपेक्षित हुन नसकेको उनीहरूको भनाइ छ। त्यस्तै कतिपय कम्पनीको कारोबार नै घटेको बुझाइ छ।
अर्थ मन्त्रालय स्रोतका अनुसार अनपेक्षित अन्तःशुल्क घटेपछि अर्थ मन्त्रालयले केही यस्ता उद्योगहरूमा अनुगमन पनि गराएको थियो। अनुगमनपछि उत्पादनमा नै कमी देखिएको बताइएको थियो। यसको असर आयकरमा पनि देखिएको ठूला करदाता कार्यालयको अधिकारीहरूको भनाइ छ।
पुस मसान्तमा गत वर्षको अन्तिम आय विवरण बुझाएर त्यस बापतको कर बुझाउनु पर्ने हुन्छ। अनुमानयोग्य आम्दानीभन्दा १० प्रतिशत बढी आय भएको खण्डमा ब्याजसहित यस्तो कर बुझाउनु पर्ने र १० प्रतिशतभन्दा कम भएको अवस्थामा जति बढी आय भएको हो, त्यस बापतको कर पुस मसान्तसम्म बुझाइ सक्नुपर्ने हुन्छ।
ठूला करदाता कार्यालयले गत वर्षको अन्तिम आय विवरणको आधारमा यस वर्ष ११ अर्ब १८ करोड रूपैयाँ आम्दानी गरेको छ। यस्तो आम्दानी उल्लेखनीय भएको ठूला करदाता कार्यालयका अधिकारीहरू बताउँछन्।
अनुमानित भन्दा १० प्रतिशत माथि भयो भने बुझाउने पर्ने करको १५ प्रतिशत ब्याज र आय रकमको ०.०१ प्रतिशत जरिवाना पनि लाग्ने गर्छ। यस्तो अवस्था ठूला करदाता सकेसम्म अनुमानित आयको विवरण देखाउने गर्छन्। बढी भएको खण्डामा आगामी वर्षमा मिलान गर्न पाइने हुन्छ।
कतिपय करदाताहरूले पुस मसान्तको दिन आन्तरिक राजस्व विभागको सिस्टममा समस्या देखिएको कारण गत वर्षको विवरण बुझाउन नसकेको गुनासो गरेका छन्।
सिए सुदर्शनराज पाण्डेका अनुसार विगतका वर्षमा पनि यस्तो समस्या देखिने गरेकोमा यो वर्ष बढी देखिएको हो।
'विगतमा पनि समस्या नहुने होइन, तर केही समयमा नै समाधान हुन्थ्यो, यो वर्ष भने अलि धेरै समय समस्या देखिएको गुनासो आयो,' पाण्डेले भने। अन्तिम दिन अन्तिम समयमा विवरण बुझाउँदा प्रणाली समस्या देखिने गरेको उनको भनाइ छ।
कर विवरण बुझाउनको लागि सबमिसन नम्बर (यस्तो विवरण पेस गर्ने क्रममा चाहिने कोर्ड) लिएकाले पनि विवरण बुझाउन नपाएको उनीहरूको गुनासो छ। तर, आन्तरिक राजस्व विभागले भने यस्तो समस्या नआएको दाबी गरेको छ।
विभागका महानिर्देश दीर्घराज मैनालीले दिउँसो एक बजेपछि धेरै करदाताले विवरण सिस्टमबाट पेस गरेर र आन्तरिक प्रणालीमा समस्या नभएको बताए।
'बेलुका ११ बजेपछि पनि १७ सयभन्दा बढी आय विवरण प्राप्त भएको छ, दिउँसो एक बजेदेखि प्रत्येक घण्टा ५/७ सय जनाले विवरण बुझाउनु भएको छ, हाम्रो सिस्टममा समस्या होइन,' मैनालीले भने।