चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा आठ खर्ब ४३ अर्ब १३ करोड रूपैयाँको अन्तर्राष्ट्रिय व्यापार भएको छ।
भन्सार विभागको तथ्यांकअनुसार गत वर्षको ६ महिनाको तुलनामा ३.४७ प्रतिशतले वस्तु व्यापार घटेको छ। गत वर्ष यो अवधिमा आठ खर्ब ७३ अर्ब ४७ करोड रूपैयाँको वस्तु व्यापार भएको थियो।
यो वर्ष औसत २५ प्रतिशतले आयात व्यापार बढ्ने अनुमान गरिएकोमा ६ महिनाको अवधिमा ३.०९ प्रतिशतले आयात व्यापार घटेको छ।
यो वर्षको साउनदेखि पुससम्ममा सात खर्ब ६८ अर्ब १७ करोड रूपैयाँको आयात व्यापार भएको छ। गत वर्ष यो अवधिमा सात खर्ब ९२ अर्ब ९६ करोड रूपैयाँको आयात व्यापार भएको थियो।
यो अवधिमा निर्यात व्यापार पनि घटेको छ। गत वर्ष ६ महिनामा ८० अर्ब ८१ करोड रूपैयाँको निर्यात व्यापार भएको थियो। यो वर्ष भने ७.२३ प्रतिशतले घटेर ७४ अर्ब ९७ करोडमा सीमित छ।
निर्यातको तुलनामा आयातको परिमाण धेरै घटेको कारण व्यापार घाटा गत वर्षको तुलनामा २.६२ प्रतिशतले घटेको देखिन्छ। यो अवधिमा व्यापार घाटा ६ खर्ब ९३ अर्ब २० करोड रूपैयाँ पुगेको छ।
समग्रमा आयात घटे पनि ठूलो परिमाणमा आयात हुने वस्तुको आयात भने बढेको तथ्यांकले देखाएको छ। आयातित मूल्यको तुलनामा सबैभन्दा धेरै आयात भएका १० वस्तुमध्ये सातवटा वस्तुको आयात बढेको देखिएको छ।
आयातित मूल्यको हिसाबले डिजेलको आयात गत वर्षको तुलनामा तीन अर्ब ६२ करोड रूपैयाँले घटेको छ।
गत वर्ष ६ महिनामा ७० अर्ब ११ करोड रूपैयाँको डिजेल आयात भएको थियो। अहिले ६६ अर्ब ४९ करोड रूपैयाँ बराबरको आयात भएको छ। आयात परिमाणमा भने डिजेलको आयात बढेको भन्सार अधिकारीहरूको भनाइ छ।
मूल्यमा आएको गिरावटले आयात मूल्य कम देखिएको उनीहरूले बताएका छन्।
पेट्रोलको आयात भने गत वर्षको तुलनामा सामान्य बढेको छ। गत वर्ष ६ महिनामा पेट्रोलको आयात ३३ अर्ब ५४ करोड भएको थियो। अहिले ३३ अर्ब ९२ करोड पुगेको छ।
धेरै आयात बढ्नेमा एचआरसिट (स्पातको फ्ल्याट रोल्ड) देखिएको छ। गत वर्ष ६ महिनामा पाँच अर्ब ३३ करोड रूपैयाँको मात्रै आयात भएको थियो । यो वर्ष भने चार गुणा बढी २३ अर्ब ३६ करोड रूपैयाँको आयात भएको छ।
यस्तो छ प्रमुख १० वस्तुको आयात:
आयातित वस्तु | यो वर्षको आयात मूल्य | गत वर्षको आयात मूल्य |
डिजेल | ६६ अर्ब ४९ करोड | ७० अर्ब ११ करोड |
पेट्रोल | ३३ अर्ब ९२ करोड | ३३ अर्ब ५४ करोड |
एलपी ग्यास | २५ अर्ब ४६ करोड | २८ अर्ब २० करोड |
एचआरसिट | २२ अर्ब ३६ करोड | ५ अर्ब ३३ करोड |
शुद्ध फलाम | १९ अर्ब ३७ करोड | १९ अर्ब २२ करोड |
तयारी कपडा | १८ अर्ब ७४ करोड | १२ अर्ब ९७ करोड |
मोबाइल/टेलिफोन | १५ अर्ब ६७ करोड | १४ अर्ब ३२ करोड |
एलोपेथीक औषधी | १३ अर्ब ७२ करोड | ११ अर्ब ९४ करोड |
विद्युतीय सञ्चालित/जीप कार/भ्यान | १३ अर्ब १२ करोड | चार अर्ब ९३ करोड |
सुन | ११ अर्ब ८९ करोड | २९ अर्ब २० करोड |
निर्याततर्फ सबैभन्दा धेरै फलामे पाताको व्यापार छ। गत वर्ष ६ महिनामा दुई अर्ब ७८ करोड रूपैयाँको यस्तो पाता निर्यात भएको थियो। यो वर्ष ६ महिनामा ६ अर्ब १४ करोड पुगेको छ।
गत वर्ष ६ महिनामा १३ अर्ब ९ करोड रूपैयाँको प्रशोधित पाम तेल निर्यात भएकोमा यो वर्ष दुई अर्ब ९० करोड रूपैयाँमा सीमित भएको छ। फलफूलको जुस र तयारी कपडाको निर्यात पनि बढेको छ।
सबैभन्दा बढी निर्यात भएका १० वस्तु:
औसत आयात घटे पनि राजस्व भने बढेको छ। यसको प्रमुख कारणमा सवारी साधनको आयात बढ्नु र परिमाणात्मक रूपमा डिजेलको आयात बढ्नु देखिएको छ।
गत वर्ष डिजेल आयातबाट २३ अर्ब १४ करोडको राजस्व ६ महिनामा प्राप्त भएको थियो। यो वर्ष भने २५ अर्ब २८ करोड रूपैयाँ बराबरको भएको छ।
पेट्रोल आयातबाट १९ अर्ब ४४ करोड राजस्व प्राप्ति भएको छ। गत वर्ष १८ अर्ब २७ करोडको प्राप्ति भएको थियो।
विद्युतीय तथा पेट्रोलियम जीप, कार तथा भ्यानबाट १३ अर्ब ३३ करोड रूपैयाँ राजस्व उठेको छ। गत वर्ष भने जीप/कार/भ्यानबाट चार अर्ब ६२ करोड मात्रै राजस्व प्राप्ति भएको थियो। यस हिसाबले यस्तो राजस्व तीन गुणाले वृद्धि भएको छ।
तयारी कपडाको आयातबाट ६ अर्ब ५० करोड, एलपी ग्यासको आयातबाट चार अर्ब ७५ करोड, अन एसम्बल मोटरसाइलको आयातबाट चार अर्ब पाँच करोड र तयारी मोटरसाइकलको आयातबाट तीन अर्ब ४१ करोड रूपैयाँको राजस्व उठेको छ। एचआरसिटको आयातबाट तीन अर्ब ११ करोड र मोबाइलको आयातबाट दुई अर्ब ९२ करोडको राजस्व प्राप्त भएको भन्सार अधिकारीहरूले बताएका छन्।
औद्योगिक कच्चा पदार्थको आयात बढ्नु र बढी मूल्य अभिवृद्धि भएका वस्तुको निर्यात बढ्नुले औद्योगिक वातावरणमा केही सुधारको संकेत गरेको सरकारी अधिकारीहरू बताउँछन्।