नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले आफूहरूले विद्युत प्राधिकरणले दिएको डेडिकेटेड र ट्रंकलाइनको सुविधा नै प्रयोग नगरेको बताएका छन्।
आइतबार व्यवसायीहरूले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्।
मुरारकाले भने, 'हामीले लोडसेडिङको समयमा बत्ती बालेको प्रमाण खोजेर के गल्ती गर्यौ? डेडिकेटेड र ट्रंकलाइनको सर्तमा बसेर हामीले बत्ती चलाएका छैनौ र बढी चलाएको लाग्छ भनि हामी चोरीमा परेको हुनुपर्ने थियो। चोरी गर्यौ वा बढी बत्ती लियौँ भनेर प्राधिकरणले भन्न सकेको छैन।'
अर्घाखाँची सिमेन्टका सञ्चालक समेत रहेका मुरारकाले डेडिकेटेडमा २४ घण्टा नै विद्युत चलाएको र ट्रंकको हकमा २० घण्टाभन्दा बढी चलाएको हुनु पर्नेमा यो सर्त नै लागू नहुने भएकोले प्राधिकरणले प्रिमियम लिन नमिल्ने बताए।
मुरारकाले विद्युत महसुल निर्धारण आयोगले प्रिमियमदर निर्धारण गर्दा केही शर्त राखेको र त्यस अनुसार विद्युत उपलब्ध नगराइएको बताए।
'डेडिकेटेडको लागि नियमित बिजुली दिने हो। यसमा प्रिमियम शुल्क लिन २४ घण्टा नै विद्युत प्रवाह भएको हुनुपर्छ। त्यस्तै, यसको सर्त ६ महिना देशमा लोडसेडिङ भएको हुनुपर्ने र उद्योगमा २० घण्टाभन्दा बढी हुनुपर्ने थियो,' मुरारकाले भने, 'तर त्यस अनुसारको अवस्था नै थिएन।'
आयोगले २०७३ असार १६ गते ट्रंकलाइनको मूल्य निर्धारण गरेको थियो। यसको सर्त ६ महिना देशमा लोडसेडिङ भएको हुनुपर्ने र उद्योगमा २० घण्टाभन्दा बढी हुनुपर्ने थियो।
मुरारकाले बत्ती बालेको पाइएमा आफूहरू रकम तिर्न तयार रहेको र यसमा छलफल गरेर समाधान निकाल्नु पर्ने बताए।