नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल विद्युत प्राधिकरणले गलत काम गरेको बताएका छन्।
सोमबार पत्रकार सम्मेलन गर्दै विवादमा रहेको विषय समाधानको प्रयास नै नगरी विद्युत काटिएको उनले बताएका हुन्।
उनले विगतका वर्षहरूमा नियमित तर्फको सबै बिजुलीको पैसा उद्योगीले तिरेको बताउँदै बिल नतिरेको आधारमा लाइन नकाटिएको दाबी गरे।
'उद्योगीले नियमित र तोकिएको समयमा बिजुलीको पैसा तिर्दै आएका छन्, डेडिकेटेड र ट्रंकको नाममा पछि पठाइएको बिल जुन होइन भनिएको छ त्यही बिलको विवाद हो,' अग्रवालले भने।
उनले प्राधिकरणसँग निवेदन दिएको र बिजुली चलाएको उद्योगीले शुल्क तिर्ने कुरामा आफ्नो फरक मत नरहने बताए।
सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले लोडसेडिङको समयमा बिजुली दिएको तर अतरिक्त शुल्क नतिरेको भन्दै पत्र पठाएको जानकारी गराए।
लोडसेडिङको विषयमा बत्ती प्रयोग गरिएको हो भने तिर्न तयार रहेको उनले बताए।
अतिरिक्त पैसा लिएर बिजुली दिनको लागि निवेदन दिनु पर्नेमा यी उद्योगले निवेदन नै नदिएको दाबी गरे। तर, निवेदन दिएको विद्युत प्रयोग गरेको प्रमाण दिन सकेमा पैसा तिर्ने कुरामा दुई मत नभएको उनले बताए।