चितवनको खैरहनी नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को चालु खर्च तर्फ १ करोड ९ लाख रुपैयाँ बजेट घटाएको छ।
शुक्रबार सम्पन्न चौधौं नगर सभाले चालु आर्थिक वर्षको आम्दानी खर्चको समीक्षा गर्दै बजेट संशोधनसहित पास गरेको नगर प्रमुख शशीकुमार खनियाँले बताए।
प्रशासनिक खर्चबाट घटाइएको रकमलाई पुँजीगत खर्चमा रकमान्तर गरी विभिन्न विकास निर्माणको योजनाहरूमा विनियोजन गरिएको उनले बताए।
‘विकास निर्माणका कार्यक्रमलाई प्राथमिकता दिँदै नगरबासीको जनआकांक्षा सम्बोधन गर्न प्रशासनिक खर्च कटौती गरिएको छ,’ नगरप्रमुख खनियाँले भने।
नगर सभाबाट पारित भएका महत्वपूर्ण निर्णयहरूको जानकारी गराउँदै नगर प्रमुख शशीकुमार खनियाँले खैरहनी नगरबासीले उपचारका लागि रगत लिन रक्तसञ्चार केन्द्रलाई बुझाउनु पर्ने शुल्क अब नगरपालिकाले भुक्तानी गर्ने गरी निर्णय गरेको जानकारी दिए।
चालु आर्थिक वर्षको साउन महिनामा सम्पन्न नगर सभाले चालु खर्चतर्फ कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चको व्यय अनुमान ११ करोड ९९ लाख रुपैयाँ गरेकोमा चौधौं नगर सभाले सो अनुमानित बजेट घटाएर १० करोड ९९ लाख रुपैयाँ कायम गरेको हो।
विभिन्न नगरस्तरीय कार्यक्रमहरूको व्यय अनुमान ४९ लाख २५ हजारलाई रकमान्तर गरी ४० लाख २५ हजार रुपैयाँ कायम गरिएको नगर उपप्रमुख कविता उप्रेतीले बताइन्।
नगर सभामा उपप्रमुख कविता उप्रेतीले पेस गरेको तेह्रौं नगर सभाबाट स्वीकृत आर्थिक वर्ष २०८०/८१ को बजेट, योजना तथा कार्यक्रम संशोधनसम्बन्धी प्रस्ताव र विभिन्न राजस्वका दरहरूलाई संशोधनसम्बन्धी प्रस्ताव सभा सर्वसम्मत रूपमा पारित भएको छ।
खैरहनी नगरपालिकाको चौधौं नगर सभामा कार्यपालिकाले चालु आर्थिक वर्षको साउनदेखि हालसम्म गरेका निर्णयहरू अनुमोदन गर्नेसम्बन्धी प्रस्ताव, खैरहनी नगर अस्पतालको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन पनि सर्वसम्मतिले पारित गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु सापकोटाले बताए।