राष्ट्रिय योजना आयोगले तोकिएकै समयमा १६औं पञ्चवर्षीय योजना सार्वजनिक गर्ने गरी तयारीको कामलाई तीव्रता दिएको छ।
यसअघि नै आयोगले माघ मसान्तसम्ममा सार्वजनिक गर्ने गरी कार्यतालिका बनाएको थियो।
हालसम्मका कामहरू सोही कार्यतालिका अनुसार नै भएको कारणले तोकिएको समयमा अद्यावधिक योजना सार्वजनिक गरिने योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठले जानकारी गराए।
आयोगले हालसम्म एकीकृत प्रारम्भिक मस्यौदामाथि छलफल, प्रदेश र स्थानीय तहसँग अन्तर्क्रिया र सुझाव लिने काम गरिसकेको जनाइएको छ। त्यस्तै अन्य सरोकारवालाबाट पनि सुझाव लिने काम गरिसकेको जानकारी गराइएको छ।
आयोगले आगामी साता प्रदेश तथा स्थानीय तहबाट प्राप्त सुझावको आधारमा योजनाको परिमार्जित मस्यौदाको तयारी पूरा गर्ने जनाएको छ। पुस तेस्रो साता यो मस्यौदा राष्ट्रिय विकास परिषदमा पेस गर्ने कार्यतालिका बनाएको छ।
अन्तिम मस्यौदा माघ तेस्रो साता तयार गरेर मन्त्रिपरिषदमा पठाउने र माघ मसान्तभित्र योजना सार्वजनिक गर्ने गरी काम भएको आयोगका प्रवक्ता यमलाल भुसालले जानकारी गराए।
आयोगले १६औं अद्यावधिक योजनाको अन्तिम वर्ष २०८६–८७ सम्ममा मुलुकको कुल गार्हस्थ्य उत्पादन ८० खर्ब पुग्ने अनुमान लगाएको छ।
त्यस्तै, यो पाँच वर्षको अवधिमा औसत आर्थिक वृद्धिदर ८ प्रतिशत रहने अनुमानसहित योजनाको तयारी गरिएको छ।
हाल नेपालको कुल गार्हस्थ्य उत्पादन ५३ खर्ब माथि छ भने गत वर्षको आर्थिक वृद्धिदर १.६ प्रतिशत रहेको छ।