आयातको वृद्धिदरमा देखिएको कमी, रेमिटेन्स आम्दानी र पर्यटनबाट हुने आम्दानीमा उच्च दरमा वृद्धि भएपछि मुलुकको भुक्तानी सन्तुलन चालु आर्थिक वर्षको तीन महिनामा ९९ अर्ब ६ करोड पुगेको छ।
मासिक रुपमा यसमा वृद्धि भइरहेको छ। मुलुक भित्रिने आम्दानी र बाहिरिने रकमबीचको अन्तरलाई शोधानान्तर वा भुक्तानी सन्तुलन भनिन्छ। गत वर्ष भदौसम्म मुलुकको भुक्तानी सन्तुलन उच्च दरले ऋणात्मक भइरहेको थियो।
२०७८ चैतमा सरकारले केही वस्तुको आयातमा पूर्ण प्रतिबन्ध र आयातको क्रममा अनिवार्य नगद मार्जिनको व्यवस्था गरेपछि पनि यसमा सुधार हुँदै गएको थियो। सरकारले आयात बढेर विदेशी मुद्रा सञ्चिति ह्रास भएसँगै प्रतिबन्ध र कडाइ गरेको थियो।
हाल भने यी प्रतिबन्ध हटेको छ। तर, पछिल्लो समय बजार मागमा कमी आएको कारण आयात बढ्न सकेको छैन।
असोजसम्ममा आयात गत वर्षको यही अवधिको तुलनामा १.७ प्रतिशतले मात्रै बढेर चार खर्ब ७ अर्ब पुगेको छ।
मुलुकको आम्दानीको माध्यम निर्यात भने २.३ प्रतिशतले घटेर ४० अर्ब ८७ करोडमा सीमित भएको छ।
असोजमा रेमिटेन्स ३० प्रतिशतले बढेर तीन खर्ब ६५ अर्ब रूपैयाँ पुगेको छ। यस वर्ष पर्यटक आगमन ऐतिहासिक उच्च भएकाले पर्यटकबाट हुने आम्दानी पनि बढेको छ।
पर्यटकबाट हुने आम्दानी ५१ प्रतिशतले बढेर १७ अर्ब एक करोड रूपैयाँ पुगेको छ। गत जनवरीदेखि अक्टुबरसम्ममा नेपालमा आठ लाख नौ हजारभन्दा धेरै पर्यटक आएका छन्।
हुनतः अध्ययनको लागि विदेशिने नेपालीले गरेको खर्च समेत ८४ प्रतिशतले बढेर ३२ अर्ब ९२ करोड रूपैयाँ पुगेको छ। त्यस्तै, विदेश भ्रमणमा जानेले पनि यो अवधिमा १८ अर्बभन्दा धेरै खर्चिएका छन्। विदेशी मुद्राको सञ्चिति हालसम्मकै उच्च १६ खर्ब ४३ अर्ब रूपैयाँ पुगेको छ।
त्यस्तै, प्रत्यक्ष वैदेशिक लगानीमा सुधार भएको छ। यो तीन महिनामा ७९ प्रतिशतले यसमा वृद्धि भएको छ। गत वर्षको यो अवधिमा एक अर्ब ८८ करोड यस्तो आम्दानी भित्रिएकोमा हाल तीन अर्ब ३७ करोड रूपैयाँ भित्रिएको छ।