पर्यावरण, सामाजिक र शासन लक्ष्यमा नेपाली बैंकहरूले छिमेकी मुलुकहरूभन्दा राम्रो गरिरहेको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)ले बताएको छ।
'अहिले नेपालका बैंकहरू वास्तवमै परम्परागत लगानी प्रणालीबाट बाहिर निस्किरहेका छन्,' आइएफसीका आवासीय प्रमुख बाबाकार फायले भने, 'यहाँका बैंकहरूले पर्यावरण, महिला र साना तथा मझौला व्यवसायमा लगानी बढाइरहेका छन्।'
उनले नेपाल अहिले पनि वैदेशिक लगानी ल्याउन सक्ने अवस्थामा रहेको बताए।
नेपाल बैंकर एसोसिएसनले पहिलो पटक नेपालमा गरेको एशियन बैंकरहरूको सम्मेलनमा उनले यस्तो बताएका हुन्।
उनले नेपालका बैंकहरूले साना तथा मझौला व्यवसायमा कर्जा दिँदा धितोको रुपमा जग्गा राख्नुपर्ने व्यवस्था हटाएर अन्य धितोको बारेमा सोच्नुपर्ने समेत सुझाव दिएका छन्। नेपालले जलविद्युतबाहेक पनि पर्यटन, कृषि, सेवा क्षेत्रमा वैदेशिक लगानी ल्याउन सक्ने अवस्था रहेको समेत उनले बताए।
कार्यक्रममा बेलायत राजदूतावासकी मिसन डेपुटी हेड हेइडी टाभाकोलीले नेपाललाई पर्यावरण कार्यक्रम अन्तर्गत करिब १ अर्ब २० करोडबराबरको सहयोग दिन लागिरहेको समेत जानकारी गराइन्।
त्यस्तै, धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले प्राइभेट भेन्चर लगानी उपकरणको माध्यमबाट लगानी प्रविधि शिक्षा लगायतमा विश्वभर २१ अर्बभन्दा धेरै भइरहेको बताए। नेपालले पछिल्लो समय लगानी फिर्ता लैजान सक्ने गरी नियम बनाइरहेको बताउँदै लगानी ल्याउने विभिन्न उपकरण तयार गर्न आफूहरू लागि परेको बताए।
बैंकर एसोसिएसनका अध्यक्ष सुनिल केसीले नेपाली बैंकिङ क्षेत्र मुलुककै सबैभन्दा लचिलो (रेजिलेन्ट) क्षेत्र रहेको बताए। उनले विभिन्न कालखण्डमा आएको समस्या बैंकिङ क्षेत्रले सहजै पार गरेको समेत स्मरण गरे।
बैंकर एसोसिएसनको आयोजनामा भइरहेको सम्मेलन शुक्रबारसम्म चल्नेछ। सम्मेलनमा २५ मुलुकका ६० भन्दा धेरै बैंकका प्रतिनिधि उपस्थित छन्।