नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपाली अर्थतन्त्र संवेदनशील मोडमा पुगेको भन्दै आवश्यक कदम चाल्न सरकारलाई आग्रह गरेका छन्।
बिहीबार राष्ट्रिय आर्थिक बहस सुधारको लागि सहकार्य विषय छलफल कार्यक्रममा अध्यक्ष ढकालले संवेदनशील अर्थतन्त्रमा सुधार ल्याउन सही नीति अघि सार्नुपर्ने बताए।
उनले अर्थव्यवस्थाप्रति जनमानसले विश्वास गुमाउँदै जादा लगानी घटेको बताए। तर, घट्दो आय बढ्दो महँगीले नेपाली अर्थतन्त्रमा संरचनात्मक समस्या रहेको बुझ्न सकिने उनको भनाइ छ।
अध्यक्ष ढकालले निजी क्षेत्रलाई घरजग्गा, सेयर कारोबारी र व्यापारीको रूपमा मात्रै नहेर्नको लागि आग्रह गरे।
अर्थशास्त्रीहरूले निजी क्षेत्रलाई सीमित दायराभित्र राखेर बहस गर्ने गरेको भन्दै निजी क्षेत्रको दायरा फराकिलो भएको बताए।
'कतिपय अर्थशास्त्रीहरूले निजी क्षेत्र भन्ने वित्तिकै घरजग्गा, सेयर र व्यापार मात्रै भनेर लेख्ने बोल्ने गर्नु भएको छ, त्यो गलत हो,' उनले भने, 'लगानीका अवसर नभएपछि कर्जाको केही रकम जग्गा र सेयरमा गएको होला। अन्यत्र भएको लगानी पनि बजारमा माग नहुँदा खुम्चिदै गएको छ। बैंक तथा वित्तीय संस्थाको कर्जा तिर्न समस्या भएर विस्तारै बैंकहरूको खराब कर्जा बढ्दै जानेछ।'
उनले लगानी विस्तारमा समस्या देखिएको बताए। बिजुली उत्पादन गरेर पनि बेच्न नपाइने स्थिति, उत्पादनमूलक उद्योग सञ्चालनमा कठिनाइ सरकारको तर्फबाट गरिनुपर्ने समाधान र समन्वयमा कमीका कारण निजी क्षेत्रका व्यापारमा रूची बढेको उनको तर्क छ।
'अहिले बिजुली उत्पादन भएको छ, तर बेच्न पाइएको छैन। उत्पादनमूलक उद्योग सञ्चालन गर्न झन् कठिन छ। त्यसै कारण व्यापारमा रुची हुन्छ। तै पनि हामी काम गरिरहेका छौँ,' उनले भने।
निजी क्षेत्रलाई निरूत्साहित गर्ने काम भएको भन्दै सहकार्य र समन्वय गरेर काम गर्नुपर्ने उनले बताए। दातृ निकायले दिने सानो सहायतका प्रभावमा निजी क्षेत्रलाई प्रतिकुल हुने गरी सरकारी नीति आएको उनको गुनासो छ।
'विकास साझेदारहरूसँग पनि समदुरी आवश्यक छ। अर्थतन्त्र सञ्चालनमा विदेशी निकायको सुझाव र सल्लाह सुधारका लागि लिने हो, आफ्नै जनतालाई अप्ठेरोमा पार्न हुँदैन,' उनले भने, 'अहिले अन्तर्राष्ट्रिय मुद्रा कोषकाे सानो ऋणका कारण अर्थतन्त्र जोखिममा पर्ने अवस्था आएको छ। अहिले हाम्रा सबै सूचक ठिकठाक छन्, मिल्छ भने त्यो ऋण तिरिदिए पनि हुन्छ।'
नेपालको अर्थतन्त्रको बारेमा यथार्थ जानकारी नभई संकुचित नीति ल्याउन सरकारलाई दबाब दिने गरेको उनको दाबी छ। संकुचित नीतिहरूका कारण अर्थतन्त्र समस्यामा परेको उनले बताए।