संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले कर्णाली लगायतका दुर्गम क्षेत्रमा नुन, चामललगायतको खाद्यान्नको सहज आपूर्ति व्यवस्था मिलाई अभाव हुन नदिन निर्देशन दिएको छ।
बुधबार बसेको बैठकले चाडपर्वको समयमा नै दुर्गम क्षेत्रमा खाद्यान्न अभाव हुने गरेको भन्दै अभाव नहुने सुनिश्चितता गर्नको लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो।
त्यस्तै, सरकारले देशमा ४८ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गरेकोमा यसलाई बढाउन पनि निर्देशन दिएको छ।
समिति सदस्य रमा पौडेल कोइरालाले सरकारले सुगम क्षेत्रलाई मध्यनजर गरेर मात्रै सुलभ पसल सञ्चालन गरेको भन्दै सबै जिल्लामा र दुर्गम क्षेत्रमा यस्ता पसल सञ्चालन गर्नुपर्ने बताएकी थिइन्।
समितिको बैठकले सुपथ मूल्य पसल बढाउन निर्देशन दिएको हो।
त्यस्तै, समितिले बजार अनुगमनलाई बढाउन र अस्वभाविक रूपमा भएको मूल्य वृद्धि र कृत्रिम अभाव रोक्नको लागि पनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ।
आजको समितिको बैठकमा नेपालको सुपारी निकासी विषयमा छलफल गरिएकोमा यस विषयमा थप अध्ययन गर्ने निर्णय समितिले गरेको छ।