संसदका अर्थसमितिका सदस्यहरूले वर्तमान आर्थिक परिदृश्यमा यसका समस्या केलाउन र समाधानका उपाय सुझाउनको लागि वृहत्तर छलफल राख्नु पर्ने धारणा राखेका छन्।
मंगलबार बसेको बैठकमा पूर्व अर्थमन्त्री रहेका एमाले सांसद विष्णु पौडेलले अर्थतन्त्रमा संकटमा रहेको विषयमा सरकारले स्वीकार नगरेको भन्दै वृहत्तर छलफल गर्नुपर्ने धारणा राखेका हुन्।
'हाम्रो अर्थतन्त्र संकटमा छ। सरकारले संकटमा छ भन्ने कुरा नै स्वीकार गरेको छैन,' पौडेलले भने, 'अर्थमन्त्रमा अहिले देखिएको परिदृश्यको कारण र यसका समधान खोज्नको लागि विज्ञ र सरोकारवाला राखेर वृहत्तर छलफल समितिले गर्नुपर्यो।'
उनले अर्थतन्त्रका समस्याबाट अर्थमन्त्री पर भाग्न खोजेको समेत आरोप लगाएका छन्। समिति सदस्यहरू विराज श्रेष्ठ र ज्ञानेन्द्रबहादुर शाहीले पनि विज्ञ र सरोकारवाला राखेर छलफल गरी समाधान खोज्नुपर्ने धारणा राखेका छन्।
समिति बैठकमा समिति सदस्य स्वर्णिम वाग्लेले बजेट कार्यान्वयनका अवस्था सुधारको लागि अघि सारिएका योजनाको कार्यान्वयन अवस्था केलाउनु पर्ने बताए।
उनले अर्थतन्त्रका सूचकको औसत तथ्यांक मात्रै नभइ विस्तृत तथ्यांक केलाउने काम गर्नको लागि पनि अर्थमन्त्रालयका अधिकारीहरूलाई आग्रह गरे। व्यक्तिगत टकरावको कारण मौद्रिक नीति र वित्तीय नीतिमा समन्वय हुन नसकेको भन्दै यसलाई समधान गर्न आवश्यक रहेको बताए।
अर्थसचिव कृष्णहरी पुष्करले समग्र अर्थतन्त्रमा अपेक्षित सुधार हुन नसकेको स्वीकार गर्दै क्रमशः सुधारको बाटोमा रहेको प्रतिक्रिया दिए।
राजस्व सचिव रामप्रसाद घिमिरेले राजस्वमा अझै सुधारको नीतिको प्रभाव नदेखिएको भन्दै कात्तिकपछि सुधार देखिने बताए। उनले राजस्वले चालु खर्च धान्न गाह्रो भएको बेला यसको दायरा विस्तारको विषयमा विशेष चासो दिन आवश्यक रहेको बताए।