आर्थिक वर्ष २०७८/७९ मा नेपालमा करिब ३७ अर्ब बराबरको प्रत्यक्ष वैदेशिक लगानी बढेको छ। नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षणअनुसार हाल नेपालमा दुई खर्ब ६४ अर्ब ३२ करोड प्रत्यक्ष वैदेशिक लगानी रहेको छ।
आर्थिक वर्ष २०७७/७८ मा नेपालमा भएको यस्तो लगानी दुई खर्ब २७ अर्ब ९४ करोड रुपैयाँ रहेको थियो भने आर्थिक वर्ष २०७६/७७ मा एक खर्ब ९८ अर्ब ५२ करोड रहेको थियो।
पछिल्ला चार वर्षमा अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी बढेकोमा आर्थिक वर्ष २०७८/७९ मा मात्रै ३७ अर्ब बढेको छ। आर्थिक वर्ष २०७५/७६ मा नेपालमा यस्तो लगानी एक खर्ब ८२ अर्ब ९१ करोड रहेको थियो। यो आप्रवाह भएर बढेको रकम मात्रै नभई बढेको नाफा र बढेको मूल्यको कारण देखिएको लगानी हो।
सर्वेक्षणअनुसार नेपालमा भारतबाट सबैभन्दा बढी ८८ अर्ब ५९ करोड लगानी रहेको छ। त्यसपछि क्रमशः चीनबाट ३३ अर्ब ४५ करोड, आयरल्यान्डबाट २० अर्ब ९० करोड, सिंगापुरबाट १६ अर्ब ७ करोड र सेन्ट किट्स एन्ड नेभिसबाट १५ अर्ब ९ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेको छ।
वैदेशिक लगानीमध्ये सबैभन्दा बढी अंश चुक्ता पुँजीको छ। कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५३.७ प्रतिशत, सञ्चिति ३१.७ प्रतिशत र कर्जाको अंश १४.६ प्रतिशत छ।
त्यस्तै सबैभन्दा बढी लगानी औद्योगिक क्षेत्रमा छ। नेपालमा ६२.६ प्रतिशत औद्योगिक क्षेत्रमा र ३७.३ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ। औद्योगिक क्षेत्रअन्तर्गत् जलविद्युत क्षेत्रमा ३२.८ प्रतिशत र उत्पादन क्षेत्रमा २९.५ प्रतिशत वैदेशिक लगानी रहेको छ। यसैगरी, कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २५.६ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूमा रहेको छ ।
वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीहरूको क्षमता उपयोग ७१.१ प्रतिशत रहेको पाइएको छ भने समग्रमा वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूको नाफाको दर करिब १४.३ प्रतिशत छ।