प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को चीन भ्रमणका क्रममा आयोजना गरिएको नेपाल चीन बिजनेश समिटमा नेपालका दुई व्यवसायिक घरानाले चिनियाँ कम्पनीसँग लगानी विस्तारको सम्झौता गरेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी) ले संयुक्त रुपमा आयोजना गरेको नेपाल चीन बिजनेस समिटमा आइएमई समूहले सिएएमसी इन्जिनियरिङ कम्पनीसँग लगानी विस्तारको समझदारी गरेको छ।
यसैगरी, चौधरी समूहले जिएसी मोटर्स र होजोन मोटर्ससँग पनि सम्झौता गरेको छ।
सम्मेलनको क्रममा सरोकारवालाहरूले नेपालमा चिनियाँ लगानी अभिवृद्धि, पर्यटन प्रवर्द्धन र चीनतर्फको निर्यात सहजीकरणका लागि दुबै सरकार र निजी क्षेत्रले सहकार्य गर्ने बताएका छन्।
द्विपक्षीय व्यापार प्रवर्द्धन, पर्यटन क्षेत्रको विकास र नेपालमा चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यले आयोजित समिटमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा लगानीको वातावरण सुधार हुँदै गैरहेको बताए।
उनले नेपालमा धेरै क्षेत्र अझैं पनि लगानीका लागि आकर्षक रहेकोले लगानीका लागि आग्रह गरे। नेपाल र चीनको परम्परागत सम्बन्ध रहेको बताउँदै उनले दुई देशको आपसी सम्बन्धले आर्थिक विकास सम्भव भएको बताए।
प्रधानमन्त्री दाहालले कुनै पनि मुलुक सरकार र निजी क्षेत्रको सहकार्य सहकार्यबीना समृद्ध नहुने बताउँदै त्यसका लागि वातावरण बनाउने बताए। उनले निजीक्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको र प्रवर्द्धनमा सरकार सधैं तत्पर रहेको बताए।
साथै, उनले महासंघले लगानी, पर्यटन र निर्यात प्रवर्द्धनमा देश विदेशमा पहल गरिरहेकोमा महासंघको सराहना पनि गरे।
चीन नेपालमा सबैभन्दा धेरै लगानी गर्ने मुलुक रहेको र व्यापारमा दोस्रो ठूलो मुलुक भए पनि दुई देशबीचको व्यापार घाटा चिन्ताको विषय रहेको बताए। नेपालका कृषिजन्य उत्पादनहरूको चीनमा बजार रहेकाले व्यापार सहजीकरणका लागि प्रयत्न गर्नुपर्ने बताए।
सिसिपिआइटीको मुख्यालय बेइजिङमा सेप्टेम्बर २४, २०२३ मा आयोजित समिटलाई सम्बोधन गर्दै चिनियाँ वाणिज्य मन्त्रालयका भाइस मिनिस्टर लि फिइले चीन र नेपालबीचको सम्बन्ध निक्कै पुरानो रहेको एवम् आर्थिक गतिविधि पनि बढिरहेको बताए।
साथै, नेपालमा चिनियाँले लगानी बढाइरहेको र आगामी दिनमा पनि लगानी विस्तार हुने बताए। चीन नेपालमा सबैभन्दा बढी लगानीको प्रतिवद्धता जनाउने मुलुक हो।
नेपालमा पर्यटन र कृषि क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताए। यसैगरी उनले नेपालबाट बढीभन्दा बढी वायुसेवा कम्पनीलाई सेवा विस्तार गर्न प्रोत्साहित गर्ने बताए।
समिटमा महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीका अवसर सिर्जना गर्न, पर्यटन प्रवर्द्धन र निर्यात विस्तारका लागि सरकारले प्रयत्न गरिरहेको बताए। साथै, नेपालमा चिनियाँ लगानी बढाउन र निर्यात प्रवर्द्धनका लागि यो समिट महत्वपूर्ण रहने महासंघ अध्यक्ष चन्द्र ढकालले बताए।
अध्यक्ष ढकालले जलविद्युत, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधि लगायतका सेवा क्षेत्रमा प्रसस्त सम्भावना रहेको बताए। पछिल्लो समय पर्यटन पूर्वाधारहरू जस्तैः केवलकार, थिम पार्क रिसोर्ट लगायतमा विदेशी लगानीको बढी सम्भावना देखिएको उनले बताए।
नेपाल चिनियाँ पर्यटकका लागि आकर्षक गन्तव्य भएको बताउँदै अध्यक्ष ढकालले चीन सरकारले नेपाललाई प्राथमिकतामा राख्न पनि आग्रह गरे।