मासिक आधारमा भदौ महिनामा आयातमा सामान्य सुधार भएको छ।
साउनमा एक खर्ब २९ अर्बको आयात भएकोमा भदौमा एक खर्ब ३० अर्ब रूपैयाँको आयात भएको हो।
गत आर्थिक वर्ष २०७९/८० भदौको आधारमा भने आयात ५.०६ प्रतिशतले घटेको छ। चालु आर्थिक वर्षको भदौसम्ममा दुई खर्ब ५९ अर्ब रूपैयाँको आयात भएको हो। गत वर्षको यही अवधिमा दुई खर्ब ७३ अर्ब रूपैयाँको आयात भएको थियो।
मासिक आधारमा निर्यात भने घटेको छ। साउनमा १३ अर्ब रूपैयाँ बराबरको निर्यात भएकोमा भदौमा मात्रै १२ अर्ब ९१ करोड रूपैयाँको निर्यात भएको हो।
गत आर्थिक वर्षको आधारमा भने भदौसम्ममा निर्यात ७.७९ प्रतिशतले घटेर २६ अर्ब ४४ करोडमा सीमित भएको छ। गत आर्थिक वर्ष भदौसम्ममा २८ अर्ब ६८ करोड रूपैयाँको निर्यात भएको थियो।
अहिलेपनि नेपालको कुल व्यापारमा आयातको हिस्सा ९०.७६ प्रतिशत छ भने निर्यातको हिस्सा मात्रै ९.२४ प्रतिशत छ। नेपालले एक रूपैयाँ बराबरको निर्यात गर्दा ९ रूपैयाँ ८२ पैसा बराबरको आयात गर्छ।
हाल सबैभन्दा धेरै आयात हुने वस्तुमा पेट्रोलियम पदार्थ, फलाम तथा फलामका ब्रिकेट, स्मार्ट फोन, सुन लगायत छ।
यो अवधिमा १५ अर्ब ७४ करोडको डिजेल, ११ अर्ब ३० करोडको पेट्रोल, सात अर्ब ३२ करोडको ग्यास आयात भएको छ।
त्यस्तै, सात अर्ब ३ करोड रूपैयाँको फलाम तथा फलामका ब्रिकेट, ५ अर्ब ३६ करोडको स्र्माट फोन, ४ अर्ब १२ करोडको सुन आयात भएको छ।
अहिले नेपालको अन्य मुलुकसँग २ खर्ब ३३ अर्ब रूपैयाँ व्यापार घाटा छ। गत वर्ष आयातको कारण सरकारले ६७ अर्ब १६ रूपैयाँ राजस्व संकलन गरेकोमा यस पटक पनि ६७ अर्ब ४७ करोड रूपैयाँ संकलन गरेको छ।