नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा राष्ट्र योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्दराज पोखरेलले लामो समयदेखि मुलुकको अर्थतन्त्रमा सुधार आउन नसकेको भन्दै यसले आज जनतामा निराशा पैदा गरेको बताएका छन्।
जारी कांग्रेस केन्द्रिय समितिको बैठकमा उनले भने, 'अर्थतन्त्र बिरामी अवस्थामा भएपनि उपचार गर्ने पहल भएको छैन।'
उनले थप भने, 'बाध्यतामा विदेश गएका नेपालीले पठाएको विप्रेषणका कारण बाह्य अर्थतन्त्र सवल देखिए पनि आन्तरिक आर्थिक गतिविधिहरू निराशाजनक छ।'
कतिपय उद्यम गर्ने व्यक्तिहरूले आत्यहत्याको बाटो रोज्ने, बैंकमा ५ खर्ब बढी रकम थन्किने जस्तो अवस्था देखिनु आर्थिक क्रियाकलापमा देखिएको शिथिलताको परिणाम भएको उनले बताए।
यस्तो पैसा परिचालन गर्नको लागि केन्द्रिय बैंक र सरकारले आवश्यक छलफल तथा पहल गर्न नसकेको उनको भनाइ छ। 'साना तथा मझौला उद्योग व्यावसायहरु ६०-७० प्रतिशत रोजगारी दिने क्षेत्र संकट ग्रस्त छ। दशैको मुखमा मुख्य बजार क्षेत्र सुनसान छन। व्यापारीहरू चिन्तित छन्,' उनले भने।
विगतमा कांग्रेसको अर्थमन्त्री हुँदा सकरात्मक मनोवैज्ञानिक प्रभाव हुने गरे पनि अहिले नकरात्मक प्रभाव बजारमा देखिएको उनको भनाई छ। अर्थमन्त्री र गभर्नरबीचको सार्वजनिक वक्तव्यमा विरोधाभाषपूर्ण कुरा आउदा पनि अन्योल उत्पन्न भएको उनको भनाई छ।
'अर्थमन्त्री र गभर्नरका सार्वजनिक भनाइमा विरोधाभाष छ। मौद्रिक नीतिकाबारेमा अर्थमन्त्री र सरकारको आर्थिक नीतिका बारेमा गभर्नरले एक अर्कालाई आरोप लगाएका छन्। निजीक्षेत्र र मझौला उद्योग व्यापारी किन निराश छन?, निजीक्षेत्रले बुझेको कांग्रेसको चरित्र यस्तो होइन,' उनले प्रश्न गर्दै भने, 'परम्परागत रुपमा कांग्रेसको अर्थमन्त्री हुँदा बजारले सकारात्मक सन्देश दिन्थ्यो। तर अहिले किन नकारात्मक भइरहेको छ?'
प्रशासनिक अस्थिरताले गर्दा आर्थिक सुशासन कायम हुन नसकेको, सरकारले पनि नीतिगत सुधारमा ध्यान नदिएको उनको आरोप छ।
उनले ऋण लिएर तलब खुवाउने अवस्था आउँदा मन्त्रालय फुटाएर आर्थिक भार थप्ने काम कांग्रेस सहभागी भएको सरकारबाट भएको भन्दै यस्तो कार्य रोक्नुपर्ने समेत बताए।