अर्थमन्त्री प्रकाशरण महतले मुलुकको अर्थतन्त्रमा विस्तारै सुधारको बाटोमा केन्द्रित रहेको बताएका छन्।
कर्जा सुरक्षण कोषको वार्षिकउत्सवको अवसरमा गरिएको कार्यक्रममा उनले अर्थतन्त्रमा देखिएका समस्याहरू विस्तारै कम हुँदै गएको प्रतिक्रिया दिएका हुन्।
'समस्या सम्बोधनका लागि सरकारले सहजीकरण गर्ने गर्ने काममा कमी हुन दिने छैन। सरकारले अप्ठ्यारा हटाउँदै जानेछ, कतिपय हटिसकेका छन् घटिसकेका छन्,' उनले भने 'पर्यटक आगमन बढिरहेको छ। विदेशी मुद्रा सञ्चिति, विप्रेषण प्रवाह बढिरहेको छ। अर्थतन्त्रमा स्रोत आइरहेको छ, तर चलायमान भएको छैन।'
उनले अर्थतन्त्र चलयमान बनाउनको लागि आवश्यक पर्ने स्रोतहरू बढ्दै गएको भन्दै अब सुधार हुने बताए।
'आर्थिक गतिविधि बढ्दा रोजगारी पनि बढ्छ। राजस्वमा परेको दबाब अन्त्य हुन्छ। राजस्वमा दबाब कम भयो भने अपेक्षाअनुसारको लगानी बढ्छ,' उनले भने।
अर्थतन्त्र ठिक छैन भनेर मनोबल गिराउने गरी हल्ला फैलाउने काम भएको भन्दै त्यसलाई रोक्नुपर्ने उनको भनाइ छ।
'हातमा परेको पैसा कहाँ के गर्ने भन्ने असुरक्षाका कुरा व्यापक प्रवाह भइरहेको छ। खत्तम छ अर्थतन्त्र, अहिले खर्च गर्न ठीक समय होइन, लगानी नगरौं। बैंकहरूले लगानी नगरुन्, पैसा थुपारुन्, राखुन् भन्ने जुन नकारात्मक सर्कुलर छ, त्यसलाई हामीले अन्त्य गर्नुपर्छ।' महतले भने।
मन्त्री महतले अर्थतन्त्रमा चलाइएको नकारात्मक कुचक्रलाई सुचक्रमा बद्ल्न निक्षेप तथा कर्जा सुरक्षण कोष महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए। ४ करोड १८ लाख निक्षेप खातामा रहेको १२ खर्ब ८८ अर्ब रकमको सुरक्षा प्रदान गरिरहेको छ। करिब १७ लाख ऋणीलाई कोषले सुरक्षण गरेको उनको भनाइ छ।
'यसको पहुँच विस्तार भइरहेको छ। साना उद्यमीदेखि आम निक्षेपकर्तालाई सुरक्षा प्रदान गरेको छ। लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण, कृषि कर्जा सुरक्षणजस्ता कर्जा सुरक्षणको बैंक तथा वित्तीय संस्थालाई दूरदराजमा रहेका निम्न वर्गको पहुँचमा यसले कार्य क्षेत्र विस्तार गरेको छ।' उनले भने।
अर्थमन्त्री महतले साना–साना कर्जा विस्तारले लघु उद्यमलाई प्रवर्द्धन गर्ने र यसले रोजगारी सिर्जनामा सहयोग पुर्याउने बताए। प्रविधि क्षेत्रमा देखिएको सुधारले समग्र अर्थतन्त्र मजबुत बनाउन सहयोग पुग्ने उनको भनाइ छ।
'यो परिवर्तनको समय हो, प्रविधिको नयाँ–नयाँ विकास भइरहेको छ। डिजिटल एकाउन्टिङको हामीले कुरा गरिरहेका छौं। आइटीमा जुन क्रान्ति आएको छ, त्यसले लागत घटाएको छ,' मन्त्री डा. महतले भने, 'कर्जा सुरक्षा कोषले यो काममा अग्रणी भूमिका खेल्नेछ। यसले उच्च व्यवसायिकताका आधारमा काम गर्छ भन्ने सरकारले विश्वास लिएको छ।'