चालु आर्थिक वर्षको पहिलो दुई महिनामा सरकारको चालु खर्च घटेको छ। सरकारको प्रशासनिक खर्च र प्रदेश तथा स्थानीय तहमा जाने वित्तीय हस्तान्तरणको रकम (चालु खर्च) मा कमी आएको हो।
सरकारी आय-व्ययको लेखा राख्ने महालेखा नियन्त्रकको कार्यालयका अनुसार पहिलो दुई महिनामा चालु खर्च २१ अर्ब ६ करोड ७८ लाख रूपैयाँले घटेको हो।
गत आर्थिक वर्षको साउन र भदौमा गरी एक खर्ब आठ अर्ब ७३ करोड रूपैयाँको चालु खर्च भएको थियो। यो आर्थिक वर्षको यसै अवधिमा १९ प्रतिशतले खर्चमा कमि देखिएको हो। सो अवधिमा जम्मा ८७ अर्ब ६६ करोड खर्च भएको छ।
वित्त व्यवस्थापन र पुँजीगत खर्च भने क्रमशः ७९ प्रतिशत र ३९ प्रतिशतले बढेको छ। दुई महिनामा पुँजीगत खर्च ८ अर्ब १६ करोड रूपैयाँ भएको छ। वित्त व्यवस्थापन खर्च ३१ अर्ब ३१ करोड रूपैयाँ छ।
पहिलो दुई महिनामा सरकारको आम्दानी र खर्च दुवै घटेको छ। साउन र भदौ महिनामा सरकारले उठाउने सार्वजनिक ऋण बाहेकको आम्दानी ८ अर्ब ७८ करोड ८८ लाख रूपैयाँले कम भएको छ। चालु वर्षमा सरकारले एक खर्ब ४१ अर्ब सात करोड राजस्व र १३ अर्ब १५ करोड अन्य प्राप्ति गरेको छ।
गत वर्ष यो अवधिसम्म सरकारले ७९ करोड ३० लाख रूपैयाँ अनुदानका साथै १ खर्ब ४३ अर्ब ८१ करोड राजस्व र १८ अर्ब ४२ करोड अन्य प्राप्ति गरेको थियो।