गत आर्थिक वर्षमा नेपालीहरूले ७.७४ प्रतिशत मूल्य वृद्धि खेपेका छन्।
राष्ट्र बैंकले वार्षिक औसत मूल्यवृद्धि ७ प्रतिशतमा कायम गर्ने लक्ष्य लिएको भएपनि यसमा असफल भएको हो।
गत आर्थिक वर्षको साउनमै नेपालीहरूले ८.२६ प्रतिशतको महँगी खेपिरहेका थिए।
खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटलबाट प्राप्त सेवामा १४.४२ प्रतिशत, मरमसलाको १२.५० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थमा १०.७० प्रतिशत, सुर्तीजन्य पदार्थमा ९.८८ प्रतिशत र दूध, अण्डाको ९.२३ प्रतिशतले मूल्य वृद्धि देखिएको छ।
गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात १३.५० प्रतिशत, मनोरञ्जन तथा संस्कृतिमा १०.१८ प्रतिशत, स्वास्थ्यमा १०.०१ प्रतिशत, शिक्षा सेवाको ८.७९ प्रतिशत र घरायसी उपयोगका वस्तुहरूमा ८.६५ प्रतिशतले महँगी बढेको छ।
काठमाडौं उपत्यकाका मानिसहरूले ७.५५ प्रतिशतको मूल्य वृद्धि खेपिरहँदा तराईमा ८ प्रतिशत, पहाडमा ७.५६ प्रतिशत र हिमालमा ७.१२ प्रतिशत महँगी देखिएको छ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षमा भने मूल्य वृद्धि ६.५ प्रतिशतभित्र राख्ने लक्ष्य लिएको छ।