युवा अर्थशास्त्री समीर खतिवडाले युवा बेरोजगारी र मूल्यवृद्धि एक साथ बढ्दै जादा व्यवस्थानै संकटमा पर्ने भन्दै सचेत हुन आग्रह गरेका छन्।
राष्ट्रिय निर्माण नेपाल मञ्च र उद्यमशील युवा सृजनशील युवा अभियानले आयोजना गरेको इन्टरप्रेनरसिप इनोभेसन कन्क्लेभमा उनले नेपालमा यो समस्या बढ्दै गएको भन्दै सचेत हुनुपर्ने बताएका हुन्।
उनले युवासँग विदेश जाने सुविधा भएको कारण विद्रोह नदेखिएको बताए। 'ती सबै युवा नेपाल छाडेर विदेश गइरहेका छन्, त्यसैले गर्दा यहाँ विद्रोह देखिएको छैन,' उनले भने।
नेपाल सरकारले अहिलेसम्म बेरोजगारी र मूल्यवृद्धिलाई गम्भीर रुपमा नलिएको र त्यसका लागि नीतिगत पहल नलिएको उनको भनाइ छ।
'नीति आएपनि त्यसको कार्यान्वयन टिठ लाग्दो छ, त्यसैले गर्दा यसमा कोही पनि गम्भीर छैनन् भन्ने देखाउँछ,' उनले भने।
खतिवडाले सबै मान्छे उद्यमशील हुन सम्भव नभएको बताए।
स्वरोजगार, उद्यमशीलता विकास गर्ने कुरा नेपालमा सहज नभएको भन्दै अवसर धेरै छ भन्न सजिलो छ तर गर्न गाह्रो भएको बताए। त्यसअघि अर्थमन्त्री प्रकाशशरण महतले नेपालमा धेरै अवसर रहेको भन्दै त्यसको सुक्ष्म खोजिमा लाग्नु पर्ने बताएका थिए।
खतिवडाले हामीले औद्योगिकीकरणमा असफलता भएको औद्योगिकीकरणमा फेरि नपस्नुनै नेपालको कमजोरी भएको बताए।